खोप नलिने कोरोनाको उच्च जोखिममा
काठमाडौं । गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन,ु उनले भने। ओमिक्रोन भेरियन्टले खोप लिएका पनि सङ्क्रमित हुन सक्ने र नलिएकालाई त यसले झनै जटिल अवस्थामा पुर्याउने भएकाले दुवै समूह सचेत हुनुपर्ने अधिकारीले बताए।
खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए।जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्यो,ु उनले भने । नेपालमा कतिजनाले एक डोज पनि खोप लिएका छैनन् भन्ने विषयमा कुनै यकिन तथ्याङ्क छैन ।
यो खबर आजको नागरिक दैनिकमा छ ।
काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउनुभयो । “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ ।”
नेपालमा यसभन्दा अघि ओमिक्रोन प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । निर्देशक डा दासले एक/दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताउनुभयो । नेपालका केही दिनदेखियता यसको सङ्क्रमण दर बढिरहेको छ । रासस
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
९३ प्रतिशत नेपालीले लगाए कोरोना विरुद्धको खोप
काठमाडौँ । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।
यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो ।
साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।
मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।
नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरू केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।
नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजेटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।
नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ ।
१८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङ्ख्या मात्र बाँकी छ ।रासस
बर्दगोरियामा फागुन १९ गतेदेखि विद्यार्थीहरुलाई कोरोनाविरुद्ध दोस्रो खोप लगाइने
बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना भाइरस (कोभिड – १९ ) विरुद्ध दोस्रो खोप अभियान शुरु हुने भएको छ ।
यसअघि कोभिड विरुद्ध पहिलो खोप लगाएका सामुदायिक तथा संस्थागत विद्यालयमा अद्य्यनरत बालबालिकालाई दोस्रो खोप अभियान यही फागुन १९ ,२० र २२ गते गरि तीन दिन लगाइने भएको हो । पालिकाका अनुसार कोभिड विरुद्ध पहिलो खोप अन्तर्गत मोर्डना खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा स्वरुप मोर्डना खोप लगाइने भएको हो ।
बालबालिकाले यसअघि खोप लगाएकै केन्द्रबाट दोस्रो खोप लगाउन सक्ने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
।
गाउँपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा अध्यनरत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई गत माघ १८ गतेदेखि कोरोना विरुद्धको पहिलो खोप लगाइएको थियो ।
काठमाडौ । सरकारले १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको छ ।
कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोभिड-१९ विरुद्धको खोप दिने र यो अवधि बुस्टर मात्राको लागि पनि लागू हुने मन्त्रालयले जनाएको छ ।
खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ । बुस्टर खोप प्रदान गर्दा स्वास्थ्यकर्मी लगायत अग्रपङ्क्तिमा खटिने व्यक्ति, ६० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वघोषणा गरेकोलाई आधार बनाइ खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने मन्त्रालयले जनाएको छ ।
बर्दगोरिया ३ मा दुईवटा केन्द्रमार्फत विद्यार्थीलाई कोभिड – १९ विरुद्धको खोप अभियान चलाइने
बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा विद्यार्थीहरुका लागि कोभिड – १९ विरुद्धको खोप अभियान संचालन गरिने भएको छ ।
वडा भित्र संचालित सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा अध्यनरत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई लागि यही माघ १८ गतेदेखि २१ गतेसम्म कोरोना विरुद्धको पहिलो खोपको मात्रा लगाइने भएको हो ।
स्वास्थ्य इकाई प्रमुख नवीन चौधरीका अनुसार बालबालिकालाई माघ १९ गते मंगलबारदेखि मोडर्ना खोप लगाउन थालिएको हो। जसका लागि जगदम्बिके भगवती माविमा १८- १९ गते, रानिकुण्डा सामुदायिक स्वास्थ इकाईमा २० र २१ गते खोप अभियान संचालन गरिनेछ ।
नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रुकुम पश्चिमका एक पुरुषको कोभिडबाट मृत्यु भएको छ ।
आठविसकोट नगरपालिका वडा नम्बर ६ रुकुम पश्चिमका ६५ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ १५ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी १६ गते कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोभिड विरुद्धको कुनै पनि खोप नलगाएको वलीले बताउनुभयो ।
अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने बाँकेका ३४६ जनाको कोभिडबाट मृत्यु भएको छ ।
काठमाडौ । सरकारले २ महिनाभित्र ५–११ वर्ष उमेरसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार त्यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदको प्रक्रिया अघि बढाइएको छ।
अहिले १२–१८ वर्षका विद्यार्थीहरूलाई अभियानका रूपमा मोडर्ना खोप सञ्चालन भइरहेको छ। राष्ट्रिय खोप नीतिअनुसार, चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्य छ। हालसम्म १८ वर्षमाथिका ८३ प्रतिशत व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्। ७० प्रतिशत नागरिकले खोपको दोस्रो मात्रा लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
दातृ निकायको सहयोग र सरकारले खरिद गरेर हालसम्म कुल ४ करोड ३३ लाख डोज भित्रिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। ती खोप विभिन्न दातृ निकायको सहयोगमा ल्याइएको हो। कतिपय खोप सरकारले खरिद गरेको हो। खोपलाई सम्बन्धित प्रादेशिक र जिल्ला स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइएको छ।
सो खोप पालिका हुँदै स्वास्थ्य केन्द्रमा समेत पठाउने व्यवस्था मिलाइएको डा. मरासिनीले बताए। अहिले खोप भण्डारणमा करिब ७३ लाख डोज भण्डारणमा रहेको छ।
कोरोना विरुद्धको खोप नलगाएकालाई मनाङमा नो इन्ट्री
लमजुङ । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
शनिवारसम्म शून्य सङ्क्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइने छैन ।
मनाङका कर्मचारी र स्थानीयलाई सम्बन्धित स्थानीय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना सङ्क्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।
मनाङमा कोभिडको सङ्क्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थित तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
मनाङ प्रवेश गर्ने नासों गाउँपालिका १ तालडाडाँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरू वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रूपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताउनुभयो।
यस्तै मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको छ । मनाङमा बाह्य जिल्लाबाट सङ्क्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ ।