धनगढी । नेकपा (एमाले)को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।भीम रावल पक्षलाई २ उपसचिव दिएपछि पाँचौं दिनमा नेतृत्व चयन प्रक्रिया पूरा भएको हो ।
स्थायी कमिटी सदस्य कर्ण थापापक्षीय कृष्णप्रसाद जैसी प्रदेश अध्यक्ष बनेका छन् । अध्यक्षका आकांक्षी भरत साउद, कमल तिमिल्सिना, बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
तिमिल्सिना र सिंहले बुधबार नै उमेदवारी फिर्ता लिएका थिए । नेता भीम रावलपक्षीय साउदले उमेदवारी फिर्ता लिन मानेका थिएनन् । रावलनिकटलाई उपसचिव बनाउने सहमतिपछि उनी पछि हटेका हुन् ।
पाँचै पदाधिकारी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कालीबहादुर शाही चुनिएका छन् ।
सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागीरथी विष्ट र नरबहादुर विक चयन भएका पालले जानकारी दिए । सदस्यहरू पनि केही मात्र चुनिन बाँकी रहेको उनले बताए ।
यही असोज २१ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम अधिवेशन उद्घाटन गरेका थिए । यद्यपि सहमति जुटाउने नाममा अधिवेशनको अवधि लम्ब्याइएको थियो ।