बस दुर्घटना हुँदा दुईजना गम्भीर, १३ जना सामान्य घाइते
विराटनगर, २० चैत २०७७ ।
संखुवासभाको मादी नगरपालिका–४ दोभानमा बस दुर्घटना भएको छ । मादीबाट–धरानका लागि छुटेको को १ ख २८३४ नम्बरको बस ११ बजे दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते १३ जनामध्ये पनि दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।
बस सडकदेखि २० मिटर तलसम्म धस्रिएको थिाये । नयाँ बाटो परेका कारण बस सुस्तरी चिप्लिएर विस्तारै पल्टिएका कारण घाइतेहरु सामान्य रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । बसमा सवार १९ जनालाई सामान्य चोट मात्रै लागेकोले चैनपुर अस्पतालमा र १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
घाइतेहरुलाई तत्काल ‘रेस्क्यू’ गरेर उपचारका लागि पठाइसकिएको छ, प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो– ‘भर्खरै खनिएको सडक भएका कारण बस तल झरेको देखिन्छ ।’
काठमाडाैँ, २० चैत २०७७ ।
हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
अबकाे २४ घण्टा भित्र देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
१५२ जनामा काेराेना संक्रमणः संक्रमण निकाेहुने दर घट्दै, मृत्यु हुनेकाे संख्या ३ हजार ३१ पुग्याे
काठमाडौं, १९ चैत २०७७ ।
नेपालमा थप १५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लाे २४ घण्टामा देशभरीका बिभिन्न प्रयाेगशालाहरूमा गरीएकाे परीक्षणमा थप १ सय ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । ४ हजार २ सय १३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १५२ जना काेराेना संक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या दुई लाख ७७ हजार ४ सय ६१ पुगेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६५ जना काेराेना संक्रमित संक्रमण निकाे भएर घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाेहुनेकाे कुल संख्या दुई लाख ७२ हजार ८ सय ५१ पुगेकाे छ । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ भने हाल काेराेना संक्रमण निको हुने दर ९८.३ प्रतिशत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।
साथै गत २४ घण्टामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार ३१ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ । हाल १ हजार ५ सय ७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५ सय ४० जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाइएकाे छ ।