काठमाडौँ, २५ चैत २०७७ ।
नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताउनुभयो । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिनुभएकोे छ भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुनुहुन्छ । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।
महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।
नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।
Breaking News: पत्रकार महासंघ बागलुङ शाखामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा कँडेल
सुजन प्रेमी
बागलुङ, २४ चैत २०७७ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलवार सहमतिपछि सर्वसम्मत नेतृत्व टुङ्ग्याइएको हो ।
शाखाको सातौं अधिवेशनबाट नरेश कँडेलको नेतृत्वमा १७ सदस्य समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत हिरा बहादुर के.सीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा नविन शिशिर विक, महिला उपाध्यक्षमा जिवनकला खत्री (सरिता), सचिवमा विजय राना, सह सचिवमा तारानाथ आचार्य, समावेशी सह सचिवमा सिर्जना पन्त, कोषाध्यक्षमा खेमराज गौतम (सुवास), चयन हुनुभएको छ ।
यस्तै खुल्ला सदस्यहरुमा अर्जुन कार्की, अनिष खाती, दिनेश शर्मा, नारायण रिजाल, प्रदिप पन्त र वालकृष्ण सुवेदी चयन हुनुभएको निर्वाचन अधिकृत के.सीले बताउनुभयो । समितिको महिला सदस्यमा गुमा आचार्य (सन्ध्या), जनजाती सदस्यमा प्रशान्त घर्तिमगर, दलित सदस्यमा योगेन्द्र विक र अल्पसंख्याक सदस्यमा देउमाया राना चयन हुनुभएको छ ।
यस्तै सोही अधिवेशनबाट प्रदेश परिषद सदस्यमा कमल पौडेल, कृष्ण आचार्य, छविलाल पाण्डे, डम्बर बुढा, थम्मन थापा, दिपक राजभण्डारी, पिप्ला गौतम, प्रेम बहादुर के.सी, मञ्जुल शाक्य, मनिषा शर्मा र बेलु थापालाई निर्विरोध निर्वाचित हुनुभएको छ भने राष्ट्रिय परिषद सदस्यका लागि किरण आचार्य, कोपिला कँडेल, चन्द्र गणेश शर्मा र दिलिप पौडेल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
महासंघले देशभरको शाखा, प्रतिष्ठान,प्रदेश र केन्द्रमा यही चैत २५ गते निर्वाचन गरी नेतृत्व चयन गर्दैछ ।
हुम्ला, २४ चैत २०७७ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताउनुभयो ।
सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिनुभयो । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो ।
खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताउनुभयो । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ । विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।
काठमाडौँ, २३ चैत २०७७
आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ । कूल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार बराबर भएको छ ।
कारोवार भएका कूल १३ मध्ये आज सात उपसमूहको शेयर उकालो लागेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ बिन्दुले ओरालो लागेको छ ।
यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ७५ लाख ६८ हजार ९३ बराबरको कारोवार भयो ।
यस्तै, आइएमई जनरल इन्स्योरेन्स रु ३१ करोड ३४ लाख ९६ हजार १७४, नेपाल पूर्वाधार बैंक रु २८ करोड ९४ लाख ६३ हजार ८२८, हिमालयन जनरल इन्स्योरेन्स रु २५ करोड २५ लाख ५२ हजार २९०, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड पाँच लाख ५० हजार ६२९, नबिल बैंक रु १५ करोड ५६ लाख ३९ हजार ६१९, चन्द्रागिरि हिल्स रु १५ करोड १८ लाख ९२ हजार १९६, एनआइसी एशिया बैंक रु १५ करोड एक लाख ६१ हजार १२९, नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए ।
यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ ।
काठमाडौँ, २३ चैत २०७७ ।
काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।
उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो । वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
उहाँले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारीसाधन नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो ।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो ।
गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।
यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।
Breaking News: काेराेनाकाे जाेखिम बढ्दै, भारतबाट फर्कने ५६ को एन्टिजेन नतिजा पोजेटिभ
कञ्चनपुर, २२ चैत २०७७ ।
भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनुभयो ।
उहाँका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।
सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ ।
सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।
भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागि घर फर्केका हुन् ।
सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ ।
बागलुङ, २२ चैत २०७७ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना– २०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्ररुपमा भइरहेको छ । केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो । जनगणनाका लागि आवश्यक गर्ने गणक र सुपरीवेक्षकलाई तालिम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।
सङ्घीयता कार्यान्वयनपछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । जनगणना गर्न बागलुङमा ४०६ गणक र १०० सुपरीवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिनेछ ।
करारमा कर्मचारी भर्नाका लागि आह्वान गरिएको दरखास्तमा तीन गुणा बढी अर्थात् एक हजार ८३६ ले आवेदन दिएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने व्यवस्था छ ।
तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणकका लागि भने दश जोड दुई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ ।
सङ्घीयतापछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठूलो सहयोग पु¥याउने छ । विसं २०७८ को असार महिनाभित्र हुने गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२औँ शृङ्खला भएको कार्यालयले बताएको छ । बागलुङका १८ प्रशिक्षकले गणक र सुपरीवेक्षकलाई तालीम दिन तयारी भएर बागलुङ आइसकेको गणना अधिकारी शर्माको भनाइ छ । उहाँका अनुसार जनगणनालाई सहज तुल्याउन जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गर्ने तयारीमा रहेको छ ।
नागरिकलाई ८० प्रश्न
अहिलेको जनगणनालाई व्यावहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको छ । जनगणनापछि सबै जानकारी प्राप्त गर्नका लागि ८० प्रश्न सोधिनेछ । जनगणनामा शुरुमा सुपरीवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछ भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नुपर्नेछ । जनगणना अधिकारी शर्माका अनुसार सुपरीवेक्षकले घरमुली, जग्गा, कृषि र बैंक खाताको विवरणलगायतका प्रश्नको उत्तर ल्याउनेछ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ । यसका लागि सुपरीवेक्षकलाई १० मिनेट र गणकलाई ३० मिनेट समय लाग्नेछ ।
महिलाको सम्पत्ति विवरण आउने
यसपटकको जनगणनामा खाली रहेको घर, गोठको समेत विवरण आउनेछ । नेपालमा महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरणसमेत जनगणनामा समावेश गरिने भएको छ । सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे÷नचाहेकोलगायतका विवरणसमेत समावेश गरिनेछ ।
भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजतालगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारीमा कार्यालय रहेको छ । जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी नगरपालिकामा, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ नगरपालिकामा, ताराखोला गाउँपालिका, बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट नगरपालिकामा तथा तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटान नगरपालिकामा वैशाख १ गतेदेखि जनगणना कार्यालय स्थापना गरिनेछ ।
जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको छ महिनामै आउनेछ । अहिले सरकारले महानगरपालिका र उपमहानगरपालिकामा डिजिटल माध्यमबाटै तथ्याङ्क सङ्कलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फारम भर्नुपर्नेछ । अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाइँसराइका साथै मातृ मृत्युदरको विषयमा समेत जानकारी लिइनेछ ।
गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ ।
घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ । २०६८ को जनगणनाअनुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको सङ्ख्याका आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाइँसराइ छ ।
जैमिनीमा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न, राङ्खानी मावि डाँडाखानी प्रथम
बागलुङ २१ चैत २०७७ ।
जैमिनी नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । चैत १९ गतेदेखि कुश्मिसेरामा भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।
प्रतियोगितामा राङ्खानी माध्यामिक विद्यालय जैमिनी नगरपालिका १० डाँडाखानी प्रथम, हिमालयन आवासीय माध्यामिक विद्यालय जैमिनी नगरपालिका १ कुश्मिसेरा द्वित्तीय र विजुवा माध्यामिक विद्यालय जैमिनी नगरपालिका ९ पैयुँथन्थाप तृतीय भएका छन् ।
माध्यामिक तहका सबै बिद्यालय सहभागी भएको प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ, द्वित्तीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद् शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत भलिवल, दौड र रिलेदौड, हाइजम्प, लङजम्प, ट्रिजम्प, ज्याभलिङ थ्रो र सटफुट लगाएतका खेलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । सो प्रतियोगितामा छात्र र छात्रा दुवैले भाग लिएका थिए ।
जैमिनी नगरपालिकाको आयोजना र सहारा क्लव कुश्मिसेराको व्यवस्थापनमा भएको प्रतियोगिता सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेसीमा आयोजना गरिएको थियो ।
जैमिनीमा पनि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु, लक्षण देखिएकाले पनि खाए
बागलुङ, २१ चैत २०७७ ।
जैमिनी नगरपालिकामा पनि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । राष्ट्रिय अभियान अन्तरगत शुक्रबारदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन थालिएको हो ।
जैमिनी नगरपालिकाका स्वास्थ्य चौकीहरुको संयोजनमा जनसंख्याको आधारमा प्रति वडा ५ देखि ९ वटा गरी ७५ वटा बुधबाट औषधि खुवाइएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको स्वामीको चौतारामा बुथ राखेर औषधि खुवाइएको थियो । जहाँबाट जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी बजारवासी लगाएतले औषधि खाएका छन् ।
साविकको कुश्मिसेरा गाविस वडा नं ४ को बुधबाट लक्षण देखिएका १ जना सहित १ सय ८६ जनाले औषधि खाएको सिनियर अनमी तथा निरिक्षक मनिकला पुनले जानकारी दिनुभयो । लक्षण देखिएका अर्का १ जनाले साविकको वडा नं ३ को बुथबाट औषधि खाएका छन् ।
Breaking News: बागलुङकाे बल्देधुरी घटनाका ८ अभियुक्त सार्वजनिक, पक्राउ पर्ने सबै दर्लिङका
बागलुङ, २० चैत २०७७ ।
बागलुङकाे बल्देधुरीमा होली खेल्ने क्रममा भएको घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेकाे छ । शुक्रवार जिल्ला प्रहरी कार्यलयले बिहिबार दिउँसोसम्म पक्राउ गरेकाे ८ जनालाई सार्वजनिक गरेकाे हाे ।
प्रहरीले गुल्मीबाट २ जना, रूपन्देहीबाट १ जना र बागलुङबाट ५ जना पक्राउ गरी सार्वजनिक गरेकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयाे । उनिहरू सबै बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका युवा रहेकाे प्रहरीकाे भनाइ छ ।
पक्राउ पर्नेहरूमा बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढा रहेका छन् । उनिहरूलाई गाउँबाटै पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताउनुभयाे । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।
गत चैत १५ गते हाेली खेल्ने क्रममा भएकाे झडपपछि निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको ज्यान गएको थियाे ।
तस्विर: राजेशचन्द्र राजभण्डारी बागलुङ