बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको महुन्याल माध्यमिक विद्यालय २०७९ को एसइईको नतिजामा सामुदायिक विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट बनेको छ ।
पालिकामा रहेका ६ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ११ वटा माध्यमिक तहका विद्यालयहरू संचालित छन् । सोमध्ये यस वर्षको एसइईमा महुन्याल माविले पालिका स्तरमा पहिलो र दोस्रो स्थान कब्जा गरेको छ भने जिल्ला स्तरमा तेस्रो स्थानमा छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरूको नतिजालाई हेर्ने हो भने जिल्लाकै उत्कृष्ट विद्यालय महुन्याल मावि बास्कोटी बनेको छ ।
२०७९ को एसईई परीक्षामा बर्दगोरियाका ६ सय ५४ मध्ये ९ जनाले ए प्लस ल्याएका छन् । जसमा महुन्याल माध्यमिक विद्यालय बासकोटीका अर्जुन आचार्यले ३.९२ जिपिए ल्याउँदै पालिका टपर बनेका छन् । जिल्ला स्तरमा भने उनी तेस्रो स्थानमा छन् ।
यस वर्षको एसइईमा ग्यालेक्सी पब्लिक स्कुल धनगढीमा कुमारी नितु विष्ट कैलाली टपर बनेकी छन् । उनले ४ जिपिए प्राप्त गरेकी छन् । यस्तै स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढीका सम्राट् चन्द ३.९५ जिपिएका साथ जिल्लामा दोस्रो बन्दा महुन्याल माध्यमिक विद्यालय बर्दगोरियाका अर्जुन आचार्य ३।९२ जिपिएका साथ तेस्रो बनेका छन् ।
यसै महुन्याल माद्यामिक विद्यालयकी झरना सिंह ठकुरीले ३.७६ जिपिए ल्याइ पालिकामा दोश्रो बनेकी छन् भने नोबेल एकेडेमी मुडा गाउँका नमिता खतिवडाले ३.७५ जिपिए ल्याइ पालिकामा तेस्रो बनेकी छन् ।
यसैगरी ए प्लस ल्याउनेमा सौरभ चौधरी ३.७० जिपिए, रोहित बहादुर रावल ३.६८ जिपिए, अविराज बुढा ३.६५ जिपिए, अन्जु चौधरी ३.६५ जिपिए, नीरज गौतम ३.६० जिपिए र सन्दीप स्वार ३.६० जिपिए छन् ।
यस्तै धनगढीमा संचालित ऐश्वर्या विद्या निकेतनका सानिध्या पाण्डे र ऋती रिजालले क्रमशः। ३।९० जिपिए प्राप्त गरेका छन् ।
बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ७५ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा सबै भन्दा बढी सी प्लस ग्रेडका छन् । भने सबै भन्दा कम ए प्लस ग्रेड ल्याउने छन् ।
यस्तो छ बर्दगोरियाको एसइई नतिजाः
परीक्षामा सहभागी पालिकाका ६ सय ५४ विद्यार्थी मध्ये ९ जना अर्थात् १ दशमलव ३७ प्रतिशतले ए प्लस (३.६ देखि ४ जिपिए) ल्याई उत्तीर्ण भएका छन् । यस्तै, २९ जना अर्थात् ४ दशमलव ४३ प्रतिशत विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जना अर्थात् १० दशमलव ८५ प्रतिशत बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् ।
यस्तै १ सय ५३ जना अर्थात् २३ दशमलव ३९ प्रतिशतले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना अर्थात् २० दशमलव ९४ प्रतिशतले सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जना अर्थात् ९ दशमलव ९३ प्रतिशतले डी प्लस (१.२ देखि १.६ जिपिए) र ९५ जना अर्थात् १४ दशमलव ५२ प्रतिशतले डी ग्रेड (०.८ देखी १.२ जिपिए) ल्याएका छन् । १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी अनुत्तीर्ण सरह मानिन्छन् । यद्यपि उनीहरू ग्रेड वृद्धि परीक्षामा भने सहभागी हुन पाउँछन् । यो पालिकामा अनुत्तीर्ण भएका १ सय ५९ जनाले ग्रेड बृद्धी परीक्षा दिन पाउने छन् ।