बर्दगोरियामा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु, एकैदिन ३ हजार ६ सयबढी बालबालिकाले लगाए खोप
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही आइतबारदेखि दादुरा तथा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । पालिकाभित्रका सबै स्वास्थ्य संस्था र बालबालिकाको पहुँच उच्च रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा एकैपटक खोप अभियान शुरु भएको हो ।
पालिकाको स्वास्थ्य शाखाकाअनुसार यसपटक ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादूरा–रुबेला खोप लगाइनेछ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रमस्वरुप दादुरा रुबेला खोप अभियान कैलालीसहित सुनसरी, मोरङ, महोत्तर, बर्दिया, दाङ, सुर्खेत, कञ्चनपुर र बाजुरामा एकैपटक सञ्चालन भएको हो ।
पालिकाको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतकाअनुसार खोप अभियानको पहिलो दिन आइतबार ३ हजार ६ सय ६० जना बालबालिकालाई खोप लगाइएको छ । उहाँकाअनुसार पालिकाभित्रका १० हजार बढी बालबालिकालाई यो खोप लगाइनेछ । बर्दगोरिया गाउँपालिकामा आजदेखि सुरु भएको खोप अभियान असार १ गतेसम्म चल्नेछ ।
कैलाली, कंचनपुरसहित ९ जिल्लामा दादुरा महामारी देखिएको र अन्य जिल्लामा फैलन सक्ने जोखिम भएकाले अनिवार्य खोप लगाउन आग्रह गरिएको छ । एक जना दादुरा संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने उहाँको भनाई छ । दादुरा संक्रमणले मृत्युसमेत हुन सक्ने भन्दै पहिला खोप लगाएको भएपनि पुनः यो खोप लगाउन समेत आग्रह गरिएको छ ।
सरकारले २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्नेउदेश्यले बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्यका साथ बालबालिकाहरुलाई लक्षित गरी खोप कार्यक्रम सुरु भएको हुँदा लक्षित उमेरसमुहका बालबालिकालाई अनिवार्य खोप कार्यक्रममा सहभागी गराउन उहाँले आग्रह समेत गर्नुभएको छ ।
यद्यपि बर्दगोरिया गाउँ सरकारले अत्याधिक गर्मिका कारण विद्यालयमा ४ दिन विदा दिएको भएपनि खोप केन्द्र तोकिएका विद्यालयमा खोप कार्यक्रम भने यथावत रूपमा संचालन हुने बताइएको छ ।
नेपालमा फैलियो दादुरा ; एक वर्षमा १६ जिल्लामा दादुराको संक्रमण, १ हजार बढी संक्रमित
काठमाडौ । नेपालमा एक वर्षमा १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा देशभरका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ । यसकारण सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने लक्ष्यमा सरकार असफल भएको छ।
सन् २०२३ सम्म दादुरामुक्त घोषणा गर्ने सरकारको तयारी भएकै वर्ष तीव्र गतिमा देशभरि दादुरा संक्रमण फैलिएर चुनौती थपिएपछि अब सरकारले सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको छ।
सन् २०२३ मा नेपालमा दादुरा रुबेलाको अन्त्य गर्ने लक्ष्य राखिएको भए पनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा ‘आउट ब्रेक’ भएको थियो।
दादुराको एकजना बिरामीले १८ जनासम्म संक्रमण सार्न सक्ने हुँदा दादुरा निकै छिटो फैलने रोगमा लिने गरिन्छ। दादुरा संक्रमण हावाको माध्यमबाट तीव्र गतिमा धेरै जनामा सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले एकै जना बिरामी हुनु पनि ज्यादै जोखिमपूर्ण मानिन्छ।
कहाँ कहाँ छ दादुरा संक्रमण ?
परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमण बाँकेमा देखिएको छ। १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा देखिएको थियो। जसले १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला संक्रमण तीव्र गतिमा फैलिएपछि महामारीकै रुप लिएको थियो र दादुराकै कारण एक बालकको मृत्युसमेत भएको थियो।
कोशी प्रदेशका २ जिल्ला मोरङ र सुनसरी, मधेश प्रदेशका ३ जिल्ला धनुषा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र काठमाडौंमा दादुराको प्रकोप देखिएको छ।
यसैगरी लुम्बिनी प्रदेशका ५ जिल्ला कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको एउटा जिल्ला सुर्खेत र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कन्चनपुर र बाजुरामा दादुराका बिरामी भेटिएका छन्। यी जिल्लामा गरी यो एक वर्षमा १ हजार ३ जना दादुराका बिरामी भेटिएका छन्।
यी १६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ३२९ जना दादुराका बिरामी भेटिएका थिए। महोत्तरीमा १०५ जना, सर्लाहीमा ७७ जना, बर्दियामा ७३ जना, सुर्खेतमा ६५ जना, कैलालीमा ४७ जना, सुनसरीमा ४१ जना, चितवनमा ४० जना, कञ्चनपुरमा ३३ जना, मोरङमा ३२ जना, दाङमा २९ जना, धनुषा र कपिलवस्तुमा २३/२३ जना, बाजुरामा १८ जना, अर्घाखाँचीमा ११ जना र काठमाडौंमा ४ जनामा दादुरा पुष्टि भएको छ।
एक जनाको ज्यान गएपछि भने बाँकेमा गत पुस महिनामा ६ महिनादेखि १५ वर्ष उमेर समूहका कुल १ लाख ७३ हजार ३२४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ।
दादुरा संक्रमण देखिएका १६ वटा जिल्लामा कुल १६ लाख ८१ हजार ८५१ जना बालबालिकालाई खोप दिने तयारी भएको समेत महाशाखाले जनाएको छ।
यी स्थानीय तहमा धेरै संक्रमण देखियो
मन्त्रालयले कैलाली सुनसरी र महोत्तरी गरी ३ जिल्लामा बढी प्रक्रोप फैलिएको बताएको छ। यसमा कैलालीको धनगढी उपमहानगर पालिका, गौरीगंगा, गोदावरी बर्जु नगरपालिका भेरी र गौशाला नगरपालिकाको वडा नं २ र ५ मा पनि यो प्रकोप बढी देखिएको छ।
धेरै संक्रमण देखिएको यी स्थानीय तहका हालसम्म कुल २ लाख १५ हजार ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइको महाशाखाले जनाएको छ।
परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा नियन्त्रणमा आएको जनाएको छ।
महाशाखाका खोप शाखाका भरत भण्डारीले अनुसार हाल गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा संक्रमण नियन्त्रणमा आइसकेको बताए।
यहाँ ४ जना दादुरा संक्रमित भेटिएका थिए भने विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षण देखिएको थियो। शंकास्पद बिरामीको संख्या ८ वर्षदेखि ३८ वर्षसम्म रहेका छन्। (थाहाखबरको सहयोगमा)
बर्दगोरियामा सोमबारदेखि चारदिन गर्मी बिदा, विद्यालयमा खोप अभियान भने संचालन हुने
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबारदेखि गर्मी बिदा हुने भएको छ। पछिल्लो केही दिन यता अत्याधिक गर्मी हुनथालेपछि बर्दगोरिया गाउँपालिकाले सोमबार जेठ २९ गतेदेखि चार दिन यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो।
पालिकाले आइतबार एक सूचना जारी गर्दै वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ।
यसैगरी पालिकाले अत्यधिक गर्मिका कारण तातो हावा (लु) बाट आफुपनि बच्न र बालबालिकालाई समेत विशेष हेरबिचार गर्न सबै शिक्षक अभिभावकमा अपिल गरेको छ ।
बर्दगोरिया । विश्व वातावरण दिवश कैलालीको बर्दगोरिया गाउँपालिकामा मनाइएको छ । दिवशको अबसरमा सोमबार र्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित सगरमाथा सामुदायिक वन र पुरैनातालको क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदीप) ले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही, विभिन्न राजनीतिक दल,समाजसेवी ,बुद्धिजीवी,स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
जुनकीरी नेपालद्वारा बौनिया बजारमा सरसफाइ
बर्दगोरिया । कैलालीको बर्दगोरीया गाउँपालिकामा रहेको जुनकिरी नेपालले आज बौनिया बजारमा सरसफाइ गरेको छ । विश्व वातावरण दिवसको अबसर पारी जुनकिरी नेपालको आयोजनामा बौनिया बजारमा सरसफाइ गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
´´सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाऔ“भन्ने नाराका साथ सरकार कार्यक्रम गरिएको जुनकिरी नेपालकि अध्यक्ष अपेक्षा रोकायाले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा बर्दगोरिया २ मा रहेको बालबाटीका, माइकी मिडिया र मार्गदर्शन ऐक्केडमीका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
जुनकिरी नेपालले यो भन्दा पहिले युवाहरूको व्यक्तित्व तथा नेतृत्वमा विकास पुग्ने कार्यहरू सञ्चालन गर्दै आईरहेको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मुक्त कमैया ,दलित महिला ,एकल महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । बुधबार बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बङ्गुरका पाठापाठी वितरणको उद्घाटन गर्नुभएको थियो ।
व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, बङ्गुरका पाठापाठी वितरण गर्दै पालिका अध्यक्ष कुवरले भन्नुभयो “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।”
गाउँपालिकाका अध्यक्ष कुवरले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उहाले भन्नुभयो, “हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”
पालिकाको शतप्रतिशत लागत सहभागितामा वडा नम्बर ४ मा रहेका मुक्त कमैया ,दलित महिला ,एकल महिला गरि २५ जनाको समुहलाई एकएक वटा बङ्गुरका पाठापाठी वितरण गरिएको पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनुभयो ।
“किसानको माग, उत्साह साथै बङ्गुरपालनका दृष्टिले प्रचुर सम्भावना भएकाले व्यावसायिक उत्पादनतर्फ जोड दिनका लागि यहाँका मुक्त कमैया, दलित एकल महिलाहरुलाई शत प्रतिशत अनुदानस्वरुप पाठापाठी वितरण गरेका हौं”, उहाँले भन्नुभयो , “यस कार्यले बङ्गुरको मासु उत्पादन तथा पाठापाठीमा आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई पूरा गर्नेछ ।”
रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई आममाफी दिने निर्णय
काठमाडौं । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।
परिवारका सदस्य समेत बसेर निर्णय गर्न नमिल्ने कानुनी व्यवस्था छ । सोही कारण रेशमपत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ चौधरीलाई मन्त्रिपरिषद् बैठकमा सहभागी नगराई यो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले थारु, मधेसलगायत आन्दोलनका १८ जनालाई राजबन्दीका रूपमा आममाफी दिने निर्णय गरेको हो ।
“गृह मन्त्रालयबाट प्रस्ताव भएको थियो । रेशम चौधरीसहित १८ जनालाई राजनीतिक आन्दोलनका क्रममा लागेको मुद्दामा आममाफी दिने निर्णय भएको छ,” ती मन्त्रीले बाह्रखरीसँग भने, “नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ भने रेशमकको परिवारकै सदस्य भएकाले मन्त्रिपरिषद् बैठकमा सहभागी गराइएको थिएन ।”
कानुनी रूपमा स्वार्थ बाझिने व्यक्तिलाई निर्णय प्रक्रियामा समेल गराउन नमिल्ने भएकाले उनलाई बैठकमा नराखिएको ती मन्त्रीले जानकारी दिए ।
राजनीतिक आन्दोलनका क्रममा मुद्दा लागेर जेल परेकाबाहेकलाई पनि बाँकी सजाय मिनाहाको प्रचलनानुसार माफी दिन लागिएको उनले बताए ।
“संख्या त यकिन भएन, तर करिब ४०० जनाले बाँकी सजाय माफीसहित कैद मुक्ति पाउनेछन्,” ती मन्त्रीले भने, “मन्त्रिपरिषद्को निर्णय गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले कार्यान्वयन गर्नुहुनेछ ।”बाह्रखरी
बर्दगोरिया । नागरिकलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ ले वडा कार्यालयको भवन शिलान्यास गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदीप) प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य लगाएतको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।
स्थानिय रत्नऋषि आचार्य र बर्तमान वडा अध्यक्ष आचार्यले वडा कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयको आफ्नै भवन बन्ने भएको हो । वडा कार्यालय भवन निर्माणका लागि स्थानिय रत्नऋषि आचार्यले साढे १ र बर्तमान वडा अध्यक्ष आचार्यले बाटोसहित साढे ६ कठ्ठा जग्गा यसअघि नै दान गरेका थिए ।
भवन निर्माणका लागि कैलालीको मसुरियामा रहेको कुलदेव बिल्डर्स निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ । १ करोड २९ लाखको लागतमा (दुईतले) ८ कोठे पक्की भवन निर्माणका लागि २०८१ को मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि कमल सापकोटाले बताउनुभयो । निर्धारित समयभित्रै कामसक्ने गरि काम थाल्ने उहाँले बताउनुभयो ।
भवनको शिलान्यासको क्रममा पालिका अध्यक्ष कुवरले गुणस्तरीय र प्रभावकारी तवरले निर्धारित समयमै काम सक्न निर्देशन दिनुभएको छ । कार्यालय भवन बनेपछि सरल सहज र छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रभाह गर्न सजिलो हुने उहाँले बताउँनुभयो ।
सो क्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने दातालाई धन्यवाद दिनुभयो ।
बर्दगोरिया १ पुर्ण खोप युक्त वडा घोषणा
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ लाई पुर्ण खोप युक्त घोषणा गरिएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ लाई बिहीबार पुर्ण खोप युक्त घोषणा गरिएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) रहनुभएको थियो भने विशिस्ट अथितिमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की रहनु भएको थियो ।
पुर्ण खोप युक्त वडा घोषणा कार्यक्रममा प्रतिबेदन बाचन गर्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले वडा नम्बर १ मा जन्मदेखि १५ महिना भित्रका ३७६ बालबालिकाले खोप प्राप्त गरेका छन त्यस्तै १६ महिनादेखि ५ वर्षसम्मका महिना भित्रका १९२ बालबालिकाले खोप प्राप्त र १६ महिना देखि ५ वर्षसम्मका पूर्ण खोप पराप्त गरेका ३३२ जना बालबालिका जानकारी दिनुभयो ।
वडालाई पुर्ण खोपयुक्त घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले खोपयुक्त घोषणाले मात्रै सबै काम पुरा भैनसकेकाले बालबालिकालाई दिनुपर्ने खोपको बारेमा आम सर्वसाधारणमा चेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समाजमा हुने हरेक खालका गतिविधीमा स्थानिय सरकारले सरोकार राख्ने र सहयोग गर्ने भएकाले चेतनाको विकासको रुपमा यस्ता घोषणा कार्यक्रमलाई लिईनु पर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष गिरिले आफ्नो समुदाय र व्यक्तिगत स्वास्थ्यको बारेमा सबै चनाखो हुनुपर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासको लागि पालिकाले प्राथमीकतामा राखेर काम गर्ने बताउनुभयो ।
खोप सेवा नेपाल सरकारको स्वास्थ्य क्षेत्रको पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपागंता दरमा कमी ल्याउनु खोप कार्यक्रमको मुख्य लक्ष्ये हो ।
बर्दगोरिया ६ का वडा अध्यक्ष रन्जितद्वारा पालिकामै पहिलोपटक छोरीको जीवन बीमा कार्यक्रम सुरुवात
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले छोरीको जीवन बीमाको शुरुआत गरेको छ । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न, बालबिबाह, महिला तथा लैङ्िगक हिंसा न्यूनीकरणमा सहजता पुर्याउनका लागि वडा कार्यालयले छोरी जीवन बीमा कार्यक्रमको शुरूवात गरेको हो ।
बिहिवार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बौनियामा शाखासहित संचालित सीटीजन लाइएफ जीवन बीमा कम्पनीसंग सम्झौताबमोजिम वडाभित्र जन्मिएका १० वटा छोरीको जीवन बीमा गरि कार्यक्रमको शुरूवात गर्नुभएको छ । जसअन्तर्गत वडाभित्र स्थायी बसोबास गर्ने, चालू आर्थिक वर्षभरी स्वास्थ्य संस्थामा जन्म भएका तर व्यक्तिगत घटना अभिलेखमा ३५ दिनभित्र दर्ता गराएका छोरीको बीमा गरिएको हो ।
वडा कार्यालयले´अझै सानो छु मलाई बढनदेउ, विवाह होईन पढनदेउ, भन्ने मुलउदेश्यसहित आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट, नीति तथा कार्यक्रमअन्तर्गत छोरीको जीवन बीमा कार्यक्रमको शुरूवात गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो । उहाँकाअनुसार १० जना छोरीलाई प्रतिव्यक्ति २० हजारका दरले पहिलो किस्ताबापत २ लाख रुपैयाँ बीमा कम्पनीलाई प्रदान गरिएको छ ।
जीवन बीमा कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष डगौरा थारुले भन्नुभयो – पछिल्लो समय समाजमा छोरीप्रतिको धारणा र भावना परिवर्तन गर्नका लागि हामीले पालिकामै पहिलोपटक छोरीको जीवन बीमा कार्यक्रमको शुरुवात गरेका हौ,यसप्रति अभिभावक पनि थप जिम्मेवार बन्नुपर्नेछ । उहाँले भन्नुभयो समाजमा अहिले पनि गर्भमा छोरी रहेको थाहा पाएपछि भुर्ण हत्या हुनेगरेका घटना देखिन्छन् जुन दण्डनिय कार्य हो । हामीले छोरीको जीवन बीमा कार्यक्रमको शुरूवात सङै अब आगामी दिनमा छोरी जन्माउने आमालाई पनी प्रोत्साहन उन्मुख कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष डगौरा थारुले भन्नुभयो – छोरी जम्निदा विभेद नगरौ, छोरी जन्मिएकोमा श्रद्धा गर्दै छोरीलाई उच्च शिक्षा दिने अभियानमा जुटौ ।
१५ वर्षिय जीवन बीमा कार्यक्रम अन्तर्गत यो कार्यक्रम पहिलोपटक वडा नम्बर ६ ले शुरुवात गरेको हो । छोरीको जीवन बीमा कार्यक्रमले १५ वर्षको अबधिसम्म परिवार र छोरी दुबैले स्वास्थ्य उपचार सेवा तथा भइपरी आउने दुर्घटना जस्ता घटनामा लाभ पाउनेछ्न । यसैगरी १५ बर्ष पुगेपछि बीमा रकम बापतको दोब्बर रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।