धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी भएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टीले कार्यालयको मुल गेटमा ताला लगाएको हो ।
तालाबन्दी किन ?
शनिबार राती एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका थिए । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् । वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।
प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए । त्यहाँबाट निस्केर फेरि उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।