बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माद्यामिक विद्यालयले विद्यार्थीको दिवा खाजामा अनियमितता गरि शिक्षक शिक्षिकाले भोज खाएको भनी सामाजिक संजालमा गरिएका टीका टिप्पणीको खण्डन गरेको छ ।
पालिकाको शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहेको विद्यालयको बदनाम हुनेगरी सामाजिक संजालमा गरिएका पोस्ट सत्यहीन र तथ्यहीन भएको जनाएको छ । विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजाल फेसबुकमा फेक आइडी बनाएर विद्यार्थीको दिवा खाजाबाट विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले अनियमितता गरि भोज गरेको भनी गलत सन्देश फैलाएको भनी त्यसको खण्डन गरेको हो ।
विद्यालयका प्रध्यानाध्यापक उदय सिंह बीसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ०७९ को वर्षे विदाको दिन विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु मिलेर (तिजको दरखाने ) दिनमा सबै शिक्षक, शिक्षिका मिलेर आपसी रूपमा पैसा संकलन गरि खाजा खाएको र सोही विषयलाई गलत तरिकाबाट सामाजिक संजाल फेसबुकमार्फत नेपाल सरकारले विद्यार्थीको लागि उपलब्ध गराउदै आएको दिवा खाजाबाट शिक्षक शिक्षिकाले भोज गरेको भन्दै गलत सन्देश फैलाएको प्रति आपत्ति जनाउदै त्यस्तो निराधार प्रचार प्रति नलाग्न सबैमा आग्रह गरेको छ ।
यसैगरी यसप्रकारको गलत प्रचार गर्ने व्यक्तिको पहिचान गरि आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न र गराउन अनुरोध समेत गरिएको छ ।