बझाङ । बझाङको मष्टा गाउँपालिका–७ दयमा ५ करोडको लगानीमा दुई वटा पार्कको निर्माण कार्य सुरु गरिएको छ । मष्टा गाउँपालिकामा पहिलो पटक यति ठूलो लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको हो । मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको छ । पार्कमा अहिले १० वटा ढुङ्गाले बनेका गौमुखे (गाईको जस्तो मुख भएका) धारा, ऋषि पञ्च जस्ता ४ वटा धारा र १ सय ५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो । पर्यटन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख गरी ५ करोड बजेटमा अहिले निर्माण कार्य सुरु गरिएको मालिका पर्यटन क्षेत्र विकास समिति सचिव ईश्वर दवालले जानकारी दिनुभयो । सचिव दवालका अनुसार दुई चरणमा सम्पन्न गरिने योजनासहितका पार्क क्षेत्रभित्र पोखरी फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल, ब्याडमिन्टन मैदान, शौचालय र मेरो सम्झनाको घर सहितको पार्क निर्माण गरिने भएको हो ।