काठमाडौँ, १४ वैशाख २०७८ ।
पछिल्लाे समय कोरोना संक्रमित बढ्न थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी लकडाउन गर्ने भएको छ ।
वैशाख १६ गते बिहान ६ बजेदेखि लागुहुनेगरी सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले काठमाडाैँ उपत्यकामा लकडाउन गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न संक्रमण बढी भएका ठाउँहरूमा अवश्था हेरी संक्रमित सङ्ख्याका आधारमा लकडाउन गर्ने निर्णय गरेको छ ।
उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी संक्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले बताउनुभयाे । पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी संक्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय समेत भएकाे जानकारी दिइएकाे छ ।
यसका साथै काठमाडौँ उपत्यका भित्रने सवारी साधन अावागमन बन्द गर्ने निर्णय समेत भएकाे छ ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि मन्त्री अर्यालले स्पष्ट पार्नुभयाे ।
एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको साथै बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताइएकाे छ ।
यसैगरी पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना जारी नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय समेत बैठकले गरेको छ ।