बागलुङ, २६ जेठ २०७८ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले जैमिनी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य, खानेपानी, शिक्षा तथा सरसफाइमा काम गर्दै आएको संस्थाले बागलुङको जैमिनी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
बुधबार जैमिनी नगरपालिकालाई १५ लिटर सेनिटाइजर, सेनिटाइजर डिस्पेनसर एक थान, पल्स अक्सिमिटर र डिजिटल थर्मोमिटर पाँच पाँच थान, पिपीई १७ वटा, मास्क ५ प्याकेट र ५० वटा फेस सिल्ड हस्तान्तरण गरिएको नेवाका गण्डकी प्रदेश प्रवन्धक कुमार प्रसाद सिलवालले जानकारी दिनुभयो ।
यस अघि बिभिन्न क्षेत्रमा काम गर्दै आएको नेवाले आफूले सहकार्य गरिरहेको पालिकामा बढ्दै गएको कोरोना महामारीको विषम परिस्थितिमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको उहाँको भनाई छ ।
अहिले नमुनाको रुपमा मात्रै सहयोग गरिएको भन्दै सिलवालले नगरपालिकालाई त्यस्ता सामग्रीहरु आवश्यक परे माग गरेमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि एक्लो प्रयासले सफल नहुने भन्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहयोगी संस्थाप्रति धन्यावाद दिनुभयो ।
सामग्री सहितको विवरण जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले नगर प्रमुख पौडेल, उप प्रमुख लिला राना र स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।