काठमाडौं । नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो ।
सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । सो अध्ययनअनुसार नेपालमा विशेषगरी पाँच प्रकारका कर्मचारी रहेका छन् । जसअनुसार पहिलो प्रकारमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउँदै पढ्ने र पढाउने काममा व्यस्त हुने कर्मचारी रहेका छन् । उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् ।
दोस्रो प्रकारमा कुनै काम नगर्ने ट्रेड युनियनमा लम्पट भएर अतिरिक्त आर्जन पनि गरिरहने, तेस्रो प्रकारमा सधैं आकर्षक स्थानमा मात्रै सरुवा तथा पदस्थापन भई घुस खाने र खुवाउने, चौथो प्रकारमा कुनै निर्णय नगर्ने कुरा मात्रै धेरै गरिरहने तर काम भने नगर्ने प्रकारका कर्मचारी रहेका छन् ।
अध्ययनअनुसार पाँचांै प्रकारका कर्मचारी भने सरकारले दिएको काम जिम्मेवारीपूर्वक वहन गर्ने प्रकृतिका रहेका छन् । अघिल्लो चार प्रकारका कामचोर र भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत रहेको भए पनि उनीहरूको प्रकारअनुसार छुट्टाछुट्टै प्रतिशत भने निक्र्यौल गर्न नसकिएको बताइएको छ ।
केही असल मनसायका प्रशासकले निजामती सेवामा काम गर्दाको झन्डै २०÷२५ वर्षको अनुभवका आधारमा भोग्नुपरेका यथार्थका आधारमा यस्तो अध्ययन र निष्कर्ष निकालिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाय र अन्य केही मन्त्रालयका उच्च प्रशासकहरूले आफ्नै अनुभवलाई समेत आधार बनाएर गरेको अनौपचारिक अध्ययनले ३० प्रतिशत कर्मचारी कामप्रति जिम्मेवार र इमानदार रहेको भए पनि उनीहरूमाथि नै बढी थिचोमिचो हुने गरेको देखाएको छ ।
‘निजामती प्रशासनमा जसले बढी इमानदारितापूर्वक काम गर्छ उसैमाथि बढी विभेद र थिचोमिचो छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले राजधानीसँग भने । ‘कामचोर सधंै चाकडी चाप्लुसीमा रमाउने र अतिरिक्त कमाइ गर्नेहरूकै बढी रजगज हुने गरेको छ,’ एक उच्च अधिकारीको अनुभव छ । तुलनात्मक रूपमा इमानदार मानिने सरकारका एक बहालवाला सचिवले यदि कर्मचारीमा यस्तै प्रवृत्ति रहिरहने र राजनीतिक नेतृत्वबाट पनि सुधारको कुनै पहल नहुने हो भने निजामती प्रशासन कोमामा पुग्न सक्ने चेतावनी दिएका छन् ।
‘७० प्रतिशत खराब प्रवृत्तिका कर्मचारी छन्, उनीहरूकै रजगज बढ्दै जाने हो र समयमा नै सुधार नहुने हो भने कर्मचारी संयन्त्र मृतप्रायः बन्न सक्छ, त्यस्तो अवस्था आएमा मुलुक असफल बन्ने रहन्छ,’ ती सचिवले राजधानीसँग भने । उनले निजामती प्रशासन सुधार हुन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै उतिकै दोषी रहेको बताए ।
मुख्य सचिवहरूले आमकर्मचारीको हितमा काम गर्न नसक्दा पनि समस्या झाँगिदै गएको उनको तर्क छ । ‘मुख्य सचिवहरू एस म्यान बन्न जरुरी छैन तर हामीकहाँ केही अपवाद छोडेर प्रायः सबै मुख्य सचिव एस म्यान भए जसका कारण प्रशासन कोमामा पुग्ने अवस्था भएको हो,’ ती सचिवले भने । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।