बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा पशुमा कृत्रिम गर्भाधान सम्बन्धि सरोकारवाला संग बिहीवार एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु सहित सरोकारवाला निकायको उपस्थिति रहेको थियो । वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) रहेका थिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष गिरिले यहाँका किसानको वृद्धि विकास र आर्थिक लाभका लागि यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको हुँदा यसलाई पालिकाको ६ वटै वडाबाट शेवा प्रदान गर्न सके कार्यलाई र लक्ष उपलब्धिमुलक हुने बताए । उनले बेरोजगारीको अन्त्य र आर्थिक विकासको अब एकमात्र विकल्प कृषि र पशुपालन भएको हुँदा यसप्रति सबै सरोकारवाला निकाय गम्भीरतापर्ूवक लाग्नुपर्ने बताए ।
कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने र कृषकलाई आर्थिक लाभ पनि हुने भएकाले यसबारे जानकारी दिन कार्यक्रम गरिएको पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले बताए । पशुमा गरिने कृत्रिम गर्भाधानले पशुको जातीमा पनि सुधार ल्याउन सकिने भएकाले कृत्रिम गर्भाधान महत्त्वपूर्ण भएको उनले बताए । आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसानको निम्ति कृत्रिम गर्भाधान प्रक्रियामा निकै आकषिर्त भएको बताए ।
कार्यक्रमका सहभागीलाई क्षेत्रीय पशु पन्छी एवम् रोग अन्वेषण प्रयोगशाला धनगढीका डा. नरेश प्रशाद जोशीले प्रशिक्षण दिएका थिए । सो क्रममा उनले कृत्रिम गर्भाधान भनेको के हो ? यसबाट किसानलाई हुने फाइदा ,पशुपालनमा देखा पर्ने रोग, तिनको निदान लगाएतका बारेमा जानकारी दिएका थिए ।
कृत्रिम गर्भधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा-बाच्छी उन्नत जातका हुने, थोरै विर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहरबाट लाग्ने र सरुवा रोगबाट बच्न सकिने जस्ता फाइदा हुने गर्दछ ।
कार्यक्रममा बोल्दै बर्दगोरिया ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले वैज्ञानिक कृषि प्रणाली अन्तर्गत कृत्रिम गर्भाधानको विधि पनि एक मानिएको बताए । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएको यो प्रविधिलाई स्थानीय निकायहरुले राम्रो सम्बोधन गरि अगाडि बढे किसानलाई निकै फाइदा पुग्ने बताए । प्रविधिलाई आम कृषकहरु समक्ष पुर्याउनका लागि कृषकहरुसँगको समन्वय, छलफल, यसको आवश्यकता, महत्व र सल्लाह, सुझावको आवश्यकता पर्ने बताए ।
कार्यक्रमको समापन गर्दै वडा नम्बर १ का अध्यक्ष /कार्यक्रमका सभाअध्यक्ष मिथुन गौतमले व्यवसायिक हिसाबले आम किसानले यसको महत्त्व र फाइदाका बारेमा आवश्यक जानकारी नपाउदा समस्या पर्ने गरेको बताए ।