काठमाडाैँ, २८ जेठ २०७८ ।
चिन सरकारले अनुदानमा दिएकाे काेराेना बिरूद्धकाे खाेप सकिएकाे छ ।
नेपालले चिन सरकारबाट अनुदानमा पाएकाे दश लाख डाेज खाेप लक्षित समुहलाई नपुग्दै सकिएकाे हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले भेरोसेल खोप लगाउन छुटेका लक्षित समुह ६० देखि ६४ वर्षका नागरिकलाई अर्को चरणमा समेट्ने बताएको छ । चीनबाट अनुदानमा आएको १० लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहका सबैलाई दिने भनिए पनि खोपको अभाव भएपछि त्यो सम्भव नहुने भएको छ ।
खोप केन्द्रमा लक्षित समूहबाहेकका व्यक्तिहरू पनि खोप लगाउन लाइनमा बसेपछि उनीहरूलाई पनि खोप दिन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसले गर्दा धेरै ठाउँमा लक्षित समूह खोप लगाउनबाट छुटेका बताइएकाे छ । तर कतिपय ठाउँमा भने लक्षित समूहलाई पुग्ने गरी खोप पठाउन नसक्दा पनि तोकिएको उमेर समूहका नागरिक खोप लगाउनबाट छुटेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट आएको १० लाख डोज खोप ६० देखि ६४ वर्षका सबै नागरिकलाई नपुग्ने भएपछि अन्तिम समयमा उमेर समूह परिवर्तन गरेको थियो । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरका लागि ६२ देखि ६४ वर्ष उमेर समूह तोकेको थियो ।
तर अभाव भएसँगै लक्षित यो समूहका केही नागरिकले अहिले खोप नपाउने निश्चित भएको छ । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा दिन पुग्ने गरी खोपको सुनिश्चितता गरेर मात्रै पहिलो मात्रा देशका ७७ वटै जिल्लामा पठाएको थियो । यसले गर्दा पहिलो मात्राका लागि माग आए पनि खोप पठाउन सक्ने अवस्था नरहेको बताइएकाे छ ।
अहिले पहिलो मात्रा लगाएकाहरूले २८ दिनपछि दोस्रो मात्रा पाउने छन् । अहिले छुटेका लक्षित समूहका नागरिकलाई खोप आएपछि समेटिने जनाइएकाे छ । अहिले खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई पछि समेट्ने तयारी छ । सरकारले काेराेना बिरूद्धकाे खोप खरिदका लागि अमेरिका, रुस, बेलायत लगायत विभिन्न देशसँग पहल गरे पनि खोप आउनेबारे अझै टुङ्गाे लागेको छैन ।