कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ ।
असार १ गते बजेट ल्याउनुपर्ने कानून प्रावधान अनुसार सुदूरपश्चिम प्रदेश सरकारले चालु आबको भन्दा करीब २०–२५ प्रतिशत वृद्धि गरी बजेट ल्याउने तयारी गरेको हो ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो ।
संघीय सरकारबाट प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढेर आएपछि बजेटको आकार बढेर आउन लागेको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले जानकारी गराए ।
करिब ३६ अर्बदेखि ३७ अर्ब आकारको बजेट आउने सचिव बस्नेतको भनाइ छ ।
यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हो । संघीयतापछि २०७४ मा गठित पहिलो प्रदेश सरकारले कार्यकालको उत्तरार्धमा ल्याउन लागेको बजेट छैटौं हो ।
प्रदेश सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रदेशको नीति तथा योजना आयोगले पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको थियो । तर संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढेर आउन लागेको हो ।
उत्पादकत्व बृद्धि गर्न कृषि, उद्योग, पर्यटनलाई जोड दिनुका साथै पूर्वाधार विकासका योजना र सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट आउन लागेको बताइएको हो । बाढी, पहिरो पीडितको समस्या समाधान गर्नलाई पनि बजेट प्राथमिकीकरण गरिएको सचिव बस्नेतको भनाइ छ ।