काठमाडौं । गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ। राजधानीमा बिहिबार कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ। यो सिजनमा दुईजना नयाँ कोचको पनि प्रवेश भएको छ। राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा भित्रिएका हुन्। यसअघिको सिजनमा कोचको रुपमा रहेकी तृष्णा गुरुङ र पहिलो सिजनदेखि नै कोच रहेका दीप श्रेष्ठ चौथो सिजनबाट बाहिरिएका छन्।
कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेको बताएका छन्। उनले भनेका छन्, ‘यसपटक अडिसनमा सहभागी प्रतिभाहरूको क्षमता देखेर हामी निकै उत्साहित भएका छौँ। यो सिजन अघिल्ला वर्षहरूमा भन्दा उत्कृष्ट हुनेमा विश्वस्त छौँ।’
डिजिटल अडिसनमा सहभागी ४१ हजार प्रतिस्पर्धीबाट १ सय २० प्रतिस्पर्धी ब्लाइन्ड अडिसनका लागि छनोट भइसकेका छन्। एक महिनाभित्रै नयाँ सिजनको प्रशारण थाल्ने आयोजकले बताएको छ।
पहिलो राउण्डमा १ सय २० जनाबाट ६४ जना ब्याटल राउण्डका लागि छनोट हुनेछन्। नयाँ सिजनमा नेपालसँगै भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपाली मूलका प्रतिस्पर्धीहरूले सहभागिता जनाएको बताइएको छ।
यसअघि भ्वाइस अफ किडको कोचको रुपमा रहेकी प्रविशाले भ्वाइस अफ नेपालको चौथो सिजनमा कोचको रुपमा जोडिन पाउँदा उत्साहित रहेको साथै चुनौती थपिएको महशुश पनि भइरहेको बताएकी छन्।
त्यस्तै अर्का नयाँ कोच राजेशले पनि योभन्दा अगाडिका सिजनदेखि नै कुरा भइरहेको भए पनि चौथो सिजनमा आएर जोडिन पाउँदा खुशी लागेको बताएका छन्। दुई जना कोच प्रमोद खरेल र राजु लामा भने कार्यक्रममा अनुपस्थित थिए।
नयाँ सिजनमा टाइटल स्पन्सरको रुपमा बजाज पल्सर जोडिएको छ। यसअघिको सिजनमा ओप्पो फोन टाइटल स्पन्सर रहेको थियो। भ्वाइस अफ नेपालको पहिलो, दोस्रो र तेस्रो सिजनमा क्रमशः सिडी विजय अधिकारी, राम लिम्बु र किरण गजमेर विजेता बनेका थिए।