बर्दगोरिया । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित बर्दगोरिया धाम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रूपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ ।
साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।