रमेश बम, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका सरकारले अबदेखि गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने एकल महिला ,वृद्धवृद्धा, असक्त, अपाङ्गहरूलाई बैंकमार्फत भत्ता लिन असहज देखिएपछि पालिकाले अब गाउँ टोलमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो । त्यसैले कार्यपालिकाबाट निर्णय गरेर नागरिक सहजताका लागि गाउँमै भत्ता वितरणको व्यवस्था मिलाइएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।
सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्थाका लागि बर्दगोरियामा रहेका एनआईसी एसिया ,सानिमा बैंक र पालिकाबिच पालिका सम्झौता भएको छ । सम्झौता बमोजिम अब बैंक कर्मचारीले लाभग्राहीको घर टोलमै पुगेर भत्ता बाड्नेछ्न ।
विशेषगरि एकल महिला , अपांगता भएका ब्यक्ति जेष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउ सम्म पुग्ना कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर अब भता बाड्न थालिएको पालिकाको पञ्जिकरण शाखा प्रमुख मदन जोशीले सुदुरचित्रलाई बताए । उनले भने – सामाजिक सुरक्षा भत्ता पाउने परिवारहरू आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्गभन्दा कमजोर हुन । यसै कुरालाई ध्यानमा राखी हामीले अब नागरिकको टोलमै पुगेर भत्ता वितरण गर्दैछौ, यसैको लागि हामीले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको परिचयपत्र समेत घरमै पुगेर नविकरण गरेका छौ ।
वृद्धवृद्धा, असहाय, एकल महिला , बालबालिका ,र अपांगता भएका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता लिनकै लागि दिनभर हिँड्नुपर्ने र बैंकमा समेत लामो लाइन बसेर लिनुपर्ने अवस्था रहेकोले अब घरमै भत्ता पुर्याउने व्यवस्था गरिएको उनले बताए । उनले भने – स्थानीय सरकारले दिने गरेका सेवा सुविदा नागरिक मुखि भएपछि सेवाग्राहीहरूलाई झन सहजता हुनेछ ।
उनकाअनुसार पालिकामा झन्डै ४ हजार जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छ्न । जोशीका अनुसार भत्ता पाउने लाभान्वितमा जेष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्ता, एकल महिला र दलित छात्रछात्रा रहेका छन । उनीहरुले त्रैमासिक रुपमा भत्ता पाउने छन ।