बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमा निर्माणाधीन झोलुङ्गे पुलको अनुगमन गरिएको छ । शनिबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले निर्माणाधीन अबस्थामा रहेको पुलको अनुगमन गर्नुभएको हो ।
बर्दगोरियाको विकास र समृद्धिका लागि अध्यक्ष कुवर निरन्तर जनताको सेवामा खटी यहाँको विकास निर्माणको बारेमा निरन्तर अनुगमनमा खटिने गर्नुभएको छ । शनिबार बिदाको दिन समेत नभनी अध्यक्ष कुवर निर्माणाधीन झोलुङ्गे पुल स्थलमा पुगि पुलको काम र अबस्थाको बारेमा अनुगमन गरि जानकारी लिनुभएको छ ।
निर्माणाधीन झोलुङ्गे पुलको अनुगमन गर्दै पालिका अध्यक्ष कुवरले समयमै निर्माण गरि सक्न र गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिनुभएको छ । अनुगमनमा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) को पनि उपस्थिति रहेको थियो ।
बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ र घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ (काडानदी) मा ठेक्का सम्झौता भएको झन्डै तीन वर्षपछि पुल निर्माणको काम सुरु भएको थियो । पुल निर्माणका लागि फारवेस्ट कम्युनिटी डेभलपमेन्ट फोरम धनगढीसँग २०७८/१/१५ मा ठेक्का सम्झौता भएको थियो ।
कुल ८८ लाख ९६ हजार ९८९ रुपैयाँको लागतमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण हुनेछ । चालू आर्थिक वर्षको भदौ महिनाभित्र काम सक्नेगरी पुल निर्माणको काम तीब्र गतिमा थालिएको जनाइएको छ ।
पुल बनेपछि यहाँका नागरिकको वर्षौदेखिको सास्ती र हैरानीको अन्त्य हुनेछ । पुल नहुदा यहाँका स्थानीय नागरिकले लामो समयदेखि जोखिम मोलेर (काडा नदि) वारपार गर्नुपर्ने स्थिति रहेको थियो । सोही समस्यालाई दृष्टिगत गरि पुल निर्माणको काम सुरु गरिएको हो ।
पुल बनेपछि बर्दगोरिया ६ र घोडाघोडी ३ का नागरिकलाई आवातजावत गर्न सहज हुनेछ । यसैगरी बर्दगोरिया ६ को धार्मिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया डाडाको विकास र समृद्धिमा टेवा पुग्ने स्थानीयको भनाई छ ।