बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शुक्रबार सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले वडा नम्बर ६ मा नवनिर्मित सुगरखाल – जोकाही झोलुङ्गे पुलको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
झोलुङ्गे पुलको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीले बर्दगोरियाको विकास र समृद्धिमा एक बलियो इट्टा थपेको बताउनुभयो । उहाँले यसक्षेत्रबाट आफू निर्वाचित भएर गइसकेपछि यहाँको भुमि व्यवस्थापन, कृषि क्षेत्र, पर्यटन प्रबर्द्धनमा विशेष जोडका साथ काम गरिरहेको बताउनुभयो ।
मन्त्री चौधरीले यहाँका किसानले बर्सेनि खेप्दै आएको मलको समस्या समाधानका लागि बर्दगोरिया ३ मा संचालित गौशालामा प्राङ्गारिक मलको उत्पादनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । यसैगरी बर्दगोरिया ६ र घोडाघोडी ३ नम्बर वडा जोड्ने काडा नदिमा पक्की पुल निर्माणको कार्ययोजना समेत अगाडि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रमका विशिस्ट अथिती रहनुभएका पालिका अध्यक्ष कर्ण बहादुर कुवरले समग्र पालिकाबासीको दीर्घकालीन विकास र समृद्धिका कार्यक्रमहरु अगाडि बढायर काम गरिरहेको बताउनुभयो । उहाँले बर्दगोरिया १ मा संचालित दोदोधरा अस्पताललाई २४ सै घन्टा नागरिकको सेवाको लागि खुल्ला गरिएको बताउदै अस्पतालबाट ९८ प्रकारका औसधि निशुल्क र बाकी औसधि न्यून मुल्यमा उपलब्ध गराइएको भन्दै अनावश्यक बाहिरी निजि क्लिक र अस्पतालमा गएर महङ्गो मुल्यमा खरिद नगर्न आग्रह गर्नुभयो ।
पालिका अध्यक्ष कुवरले बर्दगोरियाबासीका छोराछोरी पढ्ने हरेम सामुदायिक स्कुलमा कक्षा १ देखि १० सम्म पुर्णतया निशुल्क शिक्षा लागू गरिसकिएको र बर्दगोरिया कलेजमा ५० प्रतिशत सहुलियतमा पढ्न पाइने व्यवस्था र गरिब ,जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थापन समेत गरिने हुँदा आफ्नै पालिकाले संचालन गर्न लागेको कलेजमा पढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले आफ्नो पालामासमेत आफुले यहाँको विकासका लागि सक्दो कार्य गरेको भन्दै पछिल्लो जनप्रतिनिधिले झन राम्रो कामहरु अगाडि बढाएर आम जनताको मन जित्न सफल भएको भन्दै प्रसङ्गसा गर्नुभयो । उहाँले विकास र समृद्धिका लागि नागरिक र स्थानीय सरकारबिच आपसी सम्बन्ध र सहयोग निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ को सुगरखाल र घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ (काडानदी) मा ठेक्का सम्झौता भएको झन्डै तीन वर्षपछि पुल निर्माणको काम सम्पन्न भएको हो । पुल निर्माणका लागि फारवेस्ट कम्युनिटी डेभलपमेन्ट फोरम धनगढीसँग २०७८/१/१५ मा ठेक्का सम्झौता भएको थियो ।
कुल ८८ लाख ९६ हजार ९८९ रुपैयाँको लागतमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण पश्चात् बर्दगोरिया ६ घोडाघोडी नगरपालिका ३ का जनताको लागि निकै सहज भएको छ ।
पुल संचालनमा आएसङ्गै यहाँका नागरिकको वर्षौदेखिको सास्ती र हैरानीको अन्त्य भएको छ । पुल नहुदा यहाँका स्थानीय नागरिकले लामो समयदेखि जोखिम मोलेर (काडा नदि) वारपार गर्नुपर्ने स्थिति रहेको थियो ।
झोलुङ्गे पुल संचालनमा आएसङ्गै अब बर्दगोरिया ६ को धार्मिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया डाडाको विकास र समृद्धिमा समेत टेवा पुग्ने स्थानीयको भनाई छ । उद्घाटन कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नवनिर्मित झोलुङ्गे पुल उद्घाटनका लागि आउनुभएका सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई स्थानीयबाट भव्य स्वागत भएको थियो ।