बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि गुरु योजनासहित तटबन्ध निर्माणको मागगर्दै स्थानीय आन्दोलित बनेका छ्न । पालिकाको वडा नम्बर १ कट्टिपुरका स्थानीयले काडा नदीको कटानका कारण सिङ्गो बस्ती जोखिममा पर्न थालेको भन्दै यसको दिगो समाधानका लागि आवश्यक पहल थाल्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गरेका छ्न ।
बर्सेनि हुने नदीको कटानले स्थानीयको जग्गा कटानी गरि सिङ्गो गाउँनै जोखिममा पर्न थालेको भन्दै सरोकारवाला निकायलाई गुरु योजनासहित नदीमा तटबन्ध निर्माणको काम थालिनुपर्ने मागसहित संघर्ष समिति बनायर स्थानीय आन्दोलित बनेको स्थानीय नागरिक अगुवा मिथुन गौतमले बताउनुभयो । नदी कटान रोक्न स्थानीय सरकारले झारो टार्नेगरी गरेको तटवन्ध एक वर्षमै भत्कियर जमिन कटान र डुबानको श्रृङ्खला उच्च बनेपछि शुक्रबार वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा, स्थानीय जनप्रतिनिधि ,नागरिक अगुवा र स्थानीयबासीको संयुक्त टोलिले अनुगमन समेत गरेको थियो ।
सो क्रममा नदीले गर्दै आएको कटान नियन्त्रणका लागि उपयुुक्त कदम भनेकै गुरु योजना निर्माणसहितको तटबन्ध निर्माण गरिनुपर्ने भन्दै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई ध्यानाकर्षणसहित गम्भीर बनी काम थालनी गराउन दवाब दिने उदेश्यले नागरिक संघर्ष समिति गठन गरिएको छ । यहाँको जोखिमी क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै जनताको जमिन र बस्ती जोगाउन गुरुयोजना बनाई काम थाल्नुको विकल्प नभएको वडा अध्यक्ष खतिवडाले बताउनुभयो । उहाँले स्थानीय सरकारको सानो बजेटले काम नहुने भन्दै प्रदेश र केन्द्र सरकारले विषेश चासो राखि कामगर्नुपर्ने बताउनुभयो ।
बर्दगोरियामा काडा र कुइरा नदिका कारण बर्सेनि स्थानीयले समस्या खेप्दै आएका छ्न । नदी कटानको दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा वर्षेनी यहाँका नागरिकको जमिन ,वन र वस्ती जोखिममा पर्दै आएको छ । नदीको कटान र जोखिम नियन्त्रणका लागि गुरुयोजनासहित काम गरिएको भए समस्या समाधान हुने र यसप्रति सरकार गम्भीर बन्नुपर्ने स्थानीयको माग छ ।
बर्दगोरियामा काडा र कुइरा नदीका कारण वडा १ कट्टीपुर, वडा नम्बर ३ र ४ तथा वडा नम्बर ६ का नागरिकले बर्सेनि समस्या झेल्दै आएका छ्न ।