बझाङ । नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा खटिएका प्रमुख मतदान अधिकृत नै हराएपछि सदरमुकाम चैनपुरमा हल्लीखल्ली मच्चिएको छ ।
शनिबार राति १० बजेसम्म मतदाता नामावली प्रकाशन गरेका प्रमुख मतदान अधिकृत चेतराज भट्ट आइतबार उनको कोठामा नभेटिएपछि हल्लीखल्ली मच्चिएको हो ।
उनी अहिलेसम्म फेला नपरेको बताइएको छ । शनिबार राति १० बजेसम्म उनी सहायक निर्वाचन अधिकृत हरिप्रशाद जोशीसँग अन्तिम मतदाता नामावली प्रकाशन गरेर छुट्टिएका थिए ।
तर, आइतबार उनको कोठा जाँदा उनी गायब थिए । मुख्य निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि निर्वाचनका कामहरु थातीमा राखिएको छ ।
नेपाली काग्रेंसका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहका अनुसार शनिवार साँझ पार्टी जिल्ला सभापतिसहित केहीले उनलाई गाली गर्दै धम्क्याएका थिए । निर्वाचन गरे हातखुट्टा भाँचिदिने भन्दै प्रमुख निर्वाचन अधिकृत भट्टलाई धम्क्याएका थिए ।
अहिले मतदान अधिकृत भट्टको खोजीका लागि स्थानीय प्रशासनको पनि सहयोग लिइएको बताइएको छ । तर, उनी कहाँ छन् भन्नेबारे अत्तोपत्तो नभएको बताइएको छ ।