जोशीपुर,कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमलाल चौधरीले वडाको चाैतर्फि विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनु भएको छ । जनताको विकास र समृद्धिका लागि पछिल्लो समय वडामा धेरै प्रगति भएको उहाँले बताउनुभयो ।
संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भएपछि अहिले गाउँ गाउँसम्म विकासले गति पाउदै गएको उहाँले बताउनुभयो । स्थानीय नागरिकको स्वास्थ्य,शिक्षा ,कृषि तथा खानेपानीको निम्ति वडामा राम्रो काम भएको उहाँले बताउनुभयो । चौधरीले सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि वडाले विशेष काम गरेको बताउनुभयो ।
वडा अध्यक्ष चौधरीले स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडी बढीरहेको बताउनुभयो । उहाँले वडामै जनताको आधारभुत स्वास्थ्य सेवाका लागि स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालको करिव ५ वर्षको यो घडीमा वडा नम्बर २ स्थित गढी पिपल चौतारा चोकदेखि काडा नदिसम्म करिव ३८० मिटर सडक कालोपत्रे गरिएको, गढी कृषि रोडदेखि लोहागढ सम्मको करिव १५ सय मिटर सडक पिच गरिएको जानकारी दिनुभयो । यसैगरी उहाँले पीएसीदेखि नवलपुर सम्मको करिव १७ सय मिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँले वडाका नागरिकलाई सहजताको लागि तीनवटा पीएसी भवन, प्राथमिक स्वास्थ्य इकाइको भवन, स्कुलहरुको घेराबार, पर्खाल निर्माण ,शैक्षिक सामाग्री वितरण ,वडा नम्बर दुई र तीन जोड्ने स्थानीय काडा नदिमा झोलुङ्गे पुल निर्माणको तयारी भएको र जसका लागि उपभोक्ता समिती गठन भैसकेको तथा बजेटको प्रवन्ध मिलाइएको बताउनुभयो ।
यसैगरी वडा अध्यक्ष चौधरीले गढी बजारदेखि पश्चिम् जाने बाटोको स्तरोन्नतिको काम भैरहेको बताउनुभयो । उहाँले वडाका गरिब,विपन्न वर्गलाई खानेपानीका लागि प्रत्येक वर्ष फिल्टर वितरण गर्दै आएको बताउनुभयो । उहाँले नागरिकको धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासका लागि वडाका प्रत्येक टोलमा ४ वटा मन्दिर निर्माण गरेको र गढीमा चर्च निर्माणाधीन अबस्थामा रहेको बताउनुभयो ।
उहाँले सिचाइको सुविधाको लागि प्रत्येक साल स्थानीय किसानलाई समुहमार्फत बोरिङ उपलब्ध गराउदै आएको र हालसम्म ५० जति बोरिङ बितरण गरिएको बताउनुभयो । यसैगरी वडा अध्यक्ष चौधरीले वडा कार्यालय निर्माणको लागि डिपिआर तयार भएको र छिट्टै निर्माणको काम हुने बताउनुभयो ।
वडा अध्यक्ष चौधरीले आगामी कार्ययोजना अनुसार वडाको सम्पुर्ण बाटो कालोपत्रे गर्ने, शिक्षा ,स्वास्थ्य , सडक र सामाजिक सुरक्षा ,तथा दलित विपन्नलाई राहात र स्कुले विद्यार्थीको लागि छात्रवृत्ति वितरणमा ध्यान केन्द्रित भएको बताउनुभयो ।