कैलाली । लागातारको वर्षाका कारण यसपालि कैलालीमा धान उत्पादनमा कमी आउने भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार आइतबारदेखिको झरिका कारण १० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ ।
धान खेतीका लागि पकेट क्षेत्र मानिएको कैलालीमा लगातारको झरिले काटेको धान खेतमै तैरिएको छ । दशैको चटारो संगै यहाँका किसानले धान भित्राउने तयारी गरेका थिए । तर बेमौसमी झरिले किसानले भित्राउन ठिक्क पारेको धान खेतमै डुबानमा परेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माकाअनुसार कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा ध्यान खेती गरिन्छ । यहाँका किसानले मुख्य बालिका रूपमा धान खेती गर्दै आएका छन ।
बेमौसमी बर्षाका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने शर्माले बताए ।
जिल्लामा यो वर्ष समयमै पानी परेका कारण किसानले धान खेती गर्न कुनै समस्या खेप्नु परेको थिएन । यसैगरी यसपटक बिगतका बर्षझै यसपटक धान खेतमा कुनैपनी रोग नदेखिएकाले उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर आइतबारदेखिको झरिले यहाँको बर्दगोरिया, जानकी, जोशीपुर,भजनी ,टीकापुर ,धनगढी आसपासका सैयौ किसानले लगाएको खेती खेतमै तैरिन पुगेको छ ।
केन्द्रकाअनुसार जिल्लामा किसानहरूले ७० देखि ८० प्रतिशतसम्म धान काटिसकेका छ्न । लगातारको वर्षाका कारण धानबालीमा ठूलो किसानलाई क्षती पुग्ने आसङ्का गरिएको छ भने यसपालि भोकमरी पर्ने होकि भन्ने किसानमा त्रास छाएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार अझै केही दिन सुदुरपश्चिम सहित देशका विभिन्न स्थानमा वर्षा हुने छ । लगातारको झरीका कारण यहाँका खोला नदिमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।