बौनिया(कैलाली) । बर्दगोरिया गाउँपालिकामा बेमौसमी वर्षाले खेतिजन्य बस्तुमा ठूलो नोक्सानी पारेपछि राहत र क्षतिपूर्तिका लागि निवेदन दिने किसानको घुइँचो लाग्न थालेको छ । पालिकाले वर्षाका कारण भएको क्षतिको विवरण पेसगर्न किसानहरूलाई सूचना जारी गरेपछि यहाँका वडा कार्यालयहरुमा राहात र क्षतिपूर्तिको लागि निवेदन पेसगर्ने किसानको घुइँचो देखिन थालेको छ ।
पालिकाले गत असोज ३१ गतेदेखि परेको वर्षा,हावाहुरी ,डुवान, कटान, र बाढीका कारण खेतिजन्य बस्तुमा पारेको क्षतिको विवरण पेसगर्न किसानलाई बिहिवार सूचनामार्फत आग्रह गरेको थियो ।पालिकाले बेमौसमी वर्षाबाट धान, तोरी, आलु, तरकारी ,फलफूल आदिमा के- कति हानी नोक्सानी पुर्याएको हो ? त्यसको विवरण ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदनसहितको विवद्रण बुझाउन भनेको थियो । यद्यपि यहाँका किसानलाई भने वर्षाको पानीले खेतमा तैरिएको धान उठाउने कि राहात र क्षतिपूर्तिका लागि वडामा निवेदन पेसगर्न जाने भन्नेमा सकस उत्पन्न भएको छ ।
विवरण बुझाउदा किसानले एकप्रति नेपाली नागरिकताको प्रतिलिपी, जग्गा धनी लालपुर्जा ,वा ठेक्कामा खेती गरिएको भए त्यसको सम्झौतापत्र, ऐलानी जग्गाको हकमा भए वडाको सिफारिस ,कर तिरेको रसिद वा अन्य कागजपत्र समेत बुझाउनुपर्ने छ ।
वर्षा र डुबानले गरेको क्षतिको एकिन तथ्यांक संकलन गरि तत्पश्चात उनीहरूलाई राहात सहयोगको काम थाल्ने पालिकाले जनाएको छ । बर्दगोरियामा ७५ प्रतिशत किसानको धानखेतीमा क्षति पुर्याएको आकलन गरिएको छ । गत आइतबारदेखि मंगलबारसम्म परेको बेमौसमी वर्षा र बाढीको डुबानले पालिकाका ६ वटै वडामा रहेका किसानले भित्राउन ठिक्क पारेको धानमा क्षति पुर्याएको हो ।
वर्षाका कारण यहाँका ७५ प्रतिशत किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएको पाइएको पालिकाका आर्थिक विकास समिति संयोजक भेखु चौधरीले जानकारी दिए । यसपटकको बेमौसमी वर्षा र डुबानले यहाँका सैयौ किसान प्रभावित बनेको चौधरीले जानकारी दिए ।
वर्षा र डुबानले यहाँका किसानलाई पारेको क्षतिबारे ६ वटै वडामा गरिएको अनुगमनका क्रममा किसानको अबस्था दयनीय पाइएको उनले बताए । उनले भने – हामीले यहाँका ६ वटै वडामा अनुगमन गर्यौ, जसबाट किसानले भित्राउनका लागि काटेको ७५ प्रतिशत धान खेतमै तैरिएको पाएको छौ । यसबाट किसान नराम्ररी प्रभावित भएका छ्न, किसानलाई उचित राहतको व्यवस्थापनका लागि पहल थाल्दैछौ ।
संयोजक चौधरीकाअनुसार बेमौसमी वर्षाले सबैभन्दा बढी वडा नम्बर ६,५,२, ४ ,१ र ३ मा पारेको छ । वर्षाले किसानलाई पारेको समस्या समाधान र राहत कसरी प्रदान गर्न सकिन्छ भन्ने बारेमा बिहीबार पालिकाको आर्थिक विकास समितिको बैठक समेत बसेको थियो । बैठकले किसानलाई उचित राहात प्रदान गर्नका लागि के – कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरेको संयोजक चौधरीले बताए । उनकाअनुसार अब पालिकाले मातहतका सवै वडाहरु मार्फत तथ्यांक संक्लनको काम गर्नेछ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको पालिकाका कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले बताए ।
उनले यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएको भएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षति पूराएको छ ।