बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा विद्यार्थीहरुका लागि कोभिड – १९ विरुद्धको खोप अभियान संचालन गरिने भएको छ । गाउँपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा अध्यनरत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई लागि यही माघ १८ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरिने भएको हो ।
पालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीका अनुसार बालबालिकालाई माघ १८ गते मंगलबारदेखि मोडर्ना खोप लगाउन थालिएको हो। उहाँका अनुसार २ सयबढी विद्यार्थी सङ्ख्या भएका विद्यालयको हकमा विद्यालयमा नै खोप अभियान संचालन गरिनेछ भने सो भन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थाबाट खोप लगाउने छ्न ।
भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खोलिनेछ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकोमा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।
बर्दगोरिया गाउँपालिकामा १७ सामुदायिक र २३ निजि विद्यालय संचालनमा छ्न । जसमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ४हजार ५ सय बालबालिकाकालाई मोर्डना खोप दिइने प्रारम्भिक तथ्यांक रहेको स्वास्थ्य शाखाले जनाएको छ । यो भन्दा माथी उमेर समुहका विद्यार्थी आएमा जोन्सन खोप लगाइने बताइएको छ । हामीसङ्ग प्रयाप्त खोपको मात्रा रहेको छ ,लक्षित उमेर समुहका सबै बालबालिकालाई खोप लगाउन आग्रह समेत गरिएको छ ।
बालबालिकालाई संचालन गरिने कोभिड – १९ विरुद्धको खोप अभियानका लागि आवश्यक परामर्श र समन्वय गर्न स्वास्थ्य संस्था ,विद्यालय र मातहतका स्वास्थ्य इकाईलाई पालिकाले निर्देशन समेत दिएको छ ।
यसैगरी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का विद्यार्थीहरुलाई १८ देखि २० गतेसम्म खोप लगाइने भएको छ । जसका लागि ७ वटा विद्यालयलाई खोप केन्द्र तोकिएको दोदोधरा स्वास्थ्य चौकी प्रमुख नृप बिष्टले जानकारी दिनुभएको छ ।
वडा नम्बर १ मा रहेका १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बिद्यार्थीहरुले वसन्त मुरारी र पीएम एकेडेमीमा १८देखि २० गतेसम्म, बाल कन्या मा बि. र साइनिङ स्टार एकेडेमीमा १८ र १९ गते, द सनराइज मा बि.मा १८ गते र नोबेल मा बि. मा २० गते खोप लगाउन सक्ने उहाँले बताउनुभयो ।