बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बालबिबाह र बाल शोषण सम्बन्धि अभिभावकहरु संग अन्तरक्रिया गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा परिवर्तनशील किशोरी समुहको आयोजनामा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।
बालबिबाह न्यूनीकरण तथा बाल श्रम शोषणका क्षेत्रमा राज्य तथा सरोकारवाला निकायले सचेतनामुलक कार्यक्रम गर्दै आएतापनि सामाजिक ,आर्थिक तथा बदलिदो परिवेशका कारण सामाजिक अपराधका रुपमा देखिदै आएको बालबिबाह न्यूनीकरण र बाल शोषण अन्त्यगर्नका लागि अभिभावकलाई नै पहिलो जिम्मेवारी बहन गराउने उदेश्यका साथ कार्यक्रम गरिएको आयोजक किशोरी समुहले जनाएको छ ।
समुहकी अध्यक्ष हेमु हमालको सभाअध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रममा सहभागी सरोकारवाला निकायले बालबिबाह न्यूनीकरण तथा बाल शोषण अन्त्यका लागि सबभन्दा पहिले घरपरिवार नै बढी जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । उनीहरूले बालबालिकालाई बोझका रूपमा लिने प्रवृत्ति ,उनीहरूको इक्छाबिपरितको जिम्मेवारी बहन गराउने पारिवारिक कारण पनि बालबिबाह हुने गरेको भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालबालिकाका अभिभावक, विभिन्न किशोरी समुह, भलमन्सा, जनप्रतिनिधि ,तथा विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।