रमेश बम,बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा औलो रोगको जोखिम बढेको छ । भारतसँगको खुल्ला सीमा नाकाका कारण औलो रोगको जोखिम बढेको हो । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरेको पाइएपछि स्थानीयमा समेत यसको जोखिम बढेको स्वास्थ्यकर्मी बताउछन् ।
दोदोधरा अस्पतालका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को साउन महिनादेखि हालसम्मको तथ्यांक हेर्दा अस्पतालमा चेकजाँच गरेका १५ जनामा औलो पहिचान भएको छ । ती १५ जनामध्ये ९ जना बर्दगोरिया गाउँपालिकाका छ्न भने घोडाघोडी नगरपालिकाका ३ जना ,लम्कीचुहा नगरपालिकाका २ जना र गौरिगङ्गा नगरपालिकाका १ जना रहेका छ्न ।
अस्पतालका इन्चार्ज नृप बहादुर विष्टले भने औलो रोग देखिएकाहरु सबै भारतबाट फर्किएकाहरु हुन । जसका कारण स्थानीयमा यो रोग सर्नेबढी जोखिम देखिन्छ । उनले भने हालसम्म बर्दगोरियाको वडा नम्बर १ का ४ जना ,वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का १/१ गरि ९ जनामा यो रोग देखिएको छ । उनीहरू सबैले औषधि सेवन गरिरहेका छ्न ।
औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने हुन्छ भने कसैकसैमा निरन्तर वा दिन बिराएर ज्वरो आउने, कलेजोको आकार बढ्ने ,पसिनै–पसिना हुने, जोर्नीहरु दुख्ने, शरीरका भित्री अंगहरु फियो–कलेजो सुन्निने आदि लक्ष्ण देखिने उनले बताए ।
औलोको जोखिमबाट बच्न घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने, झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने, लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधी छर्कने शरीर ढाक्ने कपडा लगाउने वा खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्ने, स्प्रे, लिक्विड, औषधी प्रयोग गर्नुपर्ने उनले बताए । उनले भने, यदि यो रोग लागेको सङ्का लागेका खण्डमा अस्पतालमा गई चेकजाँच गरि चिकित्सकको सल्लाअनुसा औसधि सेवन गरेमा निको हुन्छ । ”
के हो औलो रोग ?
सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ। प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ। साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ।
प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन। मानिसको शरिरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषहरुमा विकाश भई हुकिएका परजिवीहरु रगतको माध्यमवाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन। बेलैमा नै सही निदान र उपचार नभएमा छोटो समय मै ज्यान लिन सक्ने रोग हो ।
के के हुन त लक्षणहरु ?
सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखि १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन।
औलोको निदान तथा उपचार
संकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरुको रक्त नमुना संकलन गरी रक्त परिक्षणबाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ। औलो रोगको उपचारको लागि औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्यकर्मीको सल्लाह वमोजिम पुर्णरुपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।
रोकथाम कसरी गर्ने ?
लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागि सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।
पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरुको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुन वाट जोगिन सकिन्छ ।
घर घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु वच्ने उपायहरुको बारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरुले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट वच्न तथा अरुलाई वचाउन सकिन्छ ।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।