रमेश बम, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनाको पहल थालिएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको नेतृत्वमा बर्दगोरियामा बहुमुखी क्याम्पस स्थापनाको लागि पहल शुरु भएको हो ।
पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कुवरले बताए । उनले भने बर्दगोरियाको समग्र क्षेत्रको विकास र समृद्धिका लागि म चिन्तित छु, त्यसैले यहाँका जनताको पिरमर्का र समस्या समाधानका लागि आवश्यक गृहकार्य सङ्गै पालिकामा बहुमुखी क्याम्पस स्थापनाको लागि तयारी थालिएको हो ।
कुनैपनि क्षेत्रको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य कुरा हो, अध्यक्ष कुवरले भने बर्दगोरियालाई शैक्षिक क्षेत्रमा समेत अब्बल पार्दै उच्च शिक्षाका हिसाबले बर्दगोरियालाई चिनाउन आवश्यक छ । अहिले बर्दगोरियामा बहुमुखी क्याम्पस नहुदा हाम्रा साढे दुईदेखि ३ सय बालबालिका उच्च शिक्षाका लागि बाहिरी क्षेत्रमा जानुपर्ने बाध्यता छ,सो पिडालाई मैले राम्रोसँग बुझेको छु । अध्यक्ष कुवरले भने – त्यसैले बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापना गर्नुपर्छ भन्ने हाम्रो उदेश्यसहित आवश्यक गृहकार्य शुरु भएको हो ।
पालिकामा बहुमुखी क्याम्पस स्थापना गरि संचालनमा आए यहाँको विकास र समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्नेछ । यहाँका झण्डै ३ सय बालबालिका आफ्नै पालिकाको क्याम्पसमा पढ्न पाउनेछ्न भने आसपासका पालिकाका विद्यार्थीहरुलाई समेत फाइदा पुग्ने छ ।
९ सदस्यीय समिति गठन
पालिकामा बहुमुखी क्याम्पस स्थापनाको लागि ९ सदस्यीय कमिटी गठन गरिएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको संयोजक्त्वमा कमिटी गठन गरिएको हो ।
कमिटीको उप- संयोजकमा पालिका उपाध्यक्ष गणेश राज गिरि, सचिवमा टङ्क राज वली, कोषाध्यक्षमा मिथुन गौतम रहेका छ्न ।
यसैगरी सदस्यतर्फ नन्दा कुमारी भट्ट ,प्रभुनाथ जैशी,अजय मल्ल, र मिरा आले मगर छ्न । कमिटीले पालिका मातहत रहेर आवश्यक कामकारबाही गर्नेछ ।