-
दिनेश धामी, बझाङ
नेपालको इतिहासमा विशाल साम्राज्यको रुपमा रहेको खस साम्राज्य हालको आधुनिक नेपाली इतिहासभन्दा वृहत रहेको थियो।
पाँचौं शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि मगर राज्यहरु तहसनहस भई नेपालमा दक्षिणबाट प्रवेश गरेका लिच्छविले काठमाडौं उपत्यका र उत्तरबाट प्रवेश गरेका खस आर्यले हालको कर्णाली प्रदेशको जुम्ला उपत्यकाबाट शासन सञ्चालन गर्न थाले। सूर्यवंशी राजा दशरथको आठौंं पुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको र उनैको नामबाट लिच्छविवंश स्थापना भएको मानिन्छ भने खसहरु बेविलोनियामा इ.पू. १७००–११५५ सम्म करिब साढे पाँच शताब्दीसम्म राज्य सञ्चालन गरी अफगानिस्तान, कुमाउ, गढवाल तथा तिब्बतको खारी हुँदै जुम्ला प्रवेश गरेको पाइन्छ।
वि.सं. १४४८ ताका करिब ३०० बर्ष पुरानो विशाल र शक्तिशाली कर्णाली खस राज्यको विघटन डोटी राज्यको उदय भयो। तर १८औं शताब्दीको मध्यतिर पुग्दा डोटी राज्य टुक्रिएपछि बझाङ एक स्वतन्त्र राज्यको रुपमा स्थापित हुन पुग्यो। जसको सिमाना पुर्वमा बाजुरासान्नी र जुम्ला राज्य, पश्चिममा डोटी राज्य, दक्षिण तर्फ थलहरा राज्य र उत्तरतर्फ तिब्बतको खोजरनाथ पुस्तक्याढुङ्गा र मान थियो। यसरी बाईसे राज्यहरुमा पश्चिमी नेपालको एक शक्तिशाली राज्यका रुपमा बझाङको उदय भयो। ईतिहासविदका अनुसार स्वतन्त्र बझाङ राज्यका प्रथम राजा कल्यान सिंह थिए। राजा कल्यान सिंह पछि क्रमशः अम्बर सिंह , समुन्द्र सिंह, रघुनाथ सिंह, इन्द्र सिंह, गजराज सिंह, गोबिन्द सिंह र विक्रम बहादुर सिंह बझाङका राजा भए। विक्रम बहादुर सिंह पछि राजा जय पृथ्वीबहादुर सिंहले बझाङ राज्यको राजगद्दी सम्हाले।
बझाङका राजा विक्रमबहादुर सिंहकी चारओटी रानीमध्ये जेठी रुद्रकुमारी र माईली मेघकुमारी जङ्गबहादुर राणाका छोरी थिए। साईली त्रैलोक्यकुमारी अस्कोटे पाल र कान्छी पार्वतीदेवी बमकी छोरी थिइन्। विक्रमबहादुर सिंहकी जेठी रानी रुद्रकुमारीका जेठा छोरा जयपृथ्वीबहादुर सिंह हुन्। जङ्गबहादुरको नाति भएकै कारण जयपृथ्वीले आठ वर्षको उमेरमा काठमाडौं आएर दरबार स्कुलमा पढ्न पाएका थिए। जयपृथ्वीकी आफ्नी आमापट्टिका अरू दुईभाइ वीरजङ्गबहादुर सिंह र प्रभुजङ्गबहादुर सिंह थिए। जयपृथ्वीकी माईली सौतनी आमा मेघकुमारीबाटका भाइहरू ललितजङ्गबहादुर सिंह र देवीजङ्गबहादुर सिंह थिए। विक्रमबहादुर सिंहका चार रानीबाट चौध भाइ छोरामध्ये जयपृथ्वीबहादुर सिंह बैङ्गलोर बसाइ सर्न पुगे भने वीरजङ्गबहादुर सिंह र प्रभुजङ्गबहादुर सिंह क्रमशः बझाङकै देउरा र बगडगाउँमा बसे। रानी मेघकुमारीबाटका भाइ ललितजङ्गबहादुर सिंह तारुकामा आएर बसे।
राजा जयपृथ्वीले राजकाज त्याग्ने बेला माईला भाइ ललितजङ्गबहादुर सिंहको निधन भइसकेका कारण साईला भाइ देवीजङ्गबहादुर सिंहलाई राजकाज सुम्पेका थिए। रानी त्रैलोक्यकुमारीबाटका भाइहरू अम्मरबहादुर सिंह र ध्रुवबहादुर सिंह क्रमशः बझाङको बुङ्गल र झोता तथा बबरबहादुर सिंह, इन्द्रबहादुर सिंह र नवराजबहादुर सिंह काठमाडौँमा बसेका थिए।
नवराजबहादुर सिंहले प्रधानमन्त्री पद्मशमशेरकी छोरी र राजा देवीजङ्गबहादुर सिंहले बहादुर शमशेरकी छोरी बिहे गरेका थिए। कान्छी रानीबाट मिनबहादुर सिंह, वीरभञ्जन सिंह, महेन्द्रबहादुर सिंह र डम्बरबहादुर सिंह भने सबै बझाङकै भाटगाउँ, तमैल र सिमखेतमै बसे। राजा देवीजंगबहादुर सिंहको वि.सं. १९९५ सालमा मृत्यु पछि उनका छोरा रामजंगबहादुर सिंह बझाङका राजा भए।
लेखक धामी बझाङ जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गर्दै आएका छन्।