बर्दगोरिया । स्थानीय सरकारको सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त बनाउन कैलालीको बर्दगोरिया गाउँपालिका नागरिक मैत्री बन्दै गएको छ । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न र जनगुनासोलाई सभ्य रूपमा व्यवस्थापन गर्न पालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकालाई प्रत्यक्ष रूपमा नागरिकसंग जोड्ने प्रयास गरेका छ्न ।
पालिकाबाट प्रदान गरिने सेवा सुविधा ,नागरिकका समस्या र गुनासो सुन्नका लागि कुवरले आफ्नो मोबाइल नम्बर ९८५८४८८५७१ सार्बजनिक गरेका छ्न । स्थानीय स्तरमा भएका समस्या र तिनको समाधानका लागि अब नागरिकले प्रत्यक्ष रूपमा सिधै अध्यक्ष कुवरसङ्ग जानकारी गराउन सक्नेछन् ।
यसैगरी सेवाग्राहीले आफुले भोग्नु परेको असुबिधा, स्थानीय स्तरमा तत्काल नगरी नहुने विकास निर्माणका कामहरु समेत अध्यक्ष कुवरलाई टिपोर्ट गराउन सक्नेछन् । तिनै टिपोर्टको आधारमा समेत पालिकाले प्राथमिकताका आधारमा काम गर्ने जनाएको छ ।
स्थानीय सरकारको सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त बनाउन, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र जनगुनासोलाई सभ्य रूपमा व्यवस्थापन गर्न यसले निकै महत्त्वपूर्ण सहयोग पुर्याउन सक्ने अपेक्षा राखिएको छ । सामाजिक सञ्जालमा गुनासो गर्दै तथानाम भनिरहनु पर्दैन, स्थानीय सरकारसँग कुनै काम चित्त बुझेको छैन भने सिधै अध्यक्ष कुवरलाई गुनासो गर्न सकिने छ ।’ गुनासोको तत्काल सम्बोधन हुने गरी कामगर्ने अध्यक्ष कुवरले बताए ।