बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिकामा पशुपालक किसान पशु नश्ल सुधारतर्फ आकर्षित हुन थालेका छन् ।
आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको पशु शाखा कार्यालय बर्दगोरियाले जनाएको छ ।
पशुसेवा शाखाले कृतिम गर्भाधान सेवा विस्तार गरेसँगै किसान यसतर्फ आकर्षित हँदै गएको पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले जानकारी दिए । उनकाअनुसार यो एक वर्षको अवधिमा ८२० वटा पशुको नश्ल सुधार गरिएको छ । जसमा ४४७ गाई, ३२० भैंसी, र ५७ वटा बाख्राको नश्ल सुधार गरिएको छ ।
शाखा प्रमुख कोइरालाका अनुसार कृतिम गर्भधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुने र त्यसबाट जन्मेका पशु बढी दूधालु हुने भएसँगै किसान यसतर्फ आकर्षित भएका हुन् ।’
पशु उपचार तथा रोग निदान सेवा
पालिकामा संचालित पशु उपचार तथा रोग निदान सेवाबाट ९ हजार ९५६ किसान लाभान्वित बनेका छ्न । जसमा ६ हजार ३३८ महिला र पुरुष किसानको सङ्ख्या ३ हजार ६०८ रहेको छ ।
गत साउनदेखि हालसम्म यो सेवाबाट ३९ हजार १ सय ३७ पशुको उपचार गरिएको छ । जसमा भेडाबाख्राको सङ्ख्या २३ हजार ५३९, गाईगोरु ४ हजार ३३०, भैशीको सङ्ख्या ४ हजार ३२१, बङ्गुर २ हजार ३५६, हास कुखुरा ४ हजार ३ सय ८० र कुकुरको सङ्ख्या २३० रहेको छ ।