रमेश बम,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ मा नदीको कटानबाट मानव बस्ति र जमिन जोगाउन नदीको धारलाई परिवर्तन गरिने भएको छ । वर्षातको समयमा हुने नदी कटानका कारण यहाँको मानव बस्ती र जमिन उच्च जोखिममा परेपछि बाढीको जोखिम टार्न तत्कालका लागि धार परिवर्तनको प्रयास थालिने भएको हो ।
नदीको कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरणको स्वरुप यो कार्य थालिन बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । मंगलबार पालिका अध्यक्ष कुवरसहित वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,ईलाका प्रहरी कार्यालय बौनियाका असई गौरी रावल,,सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गजेन्द्र चन्द, एमाले बर्दगोरिया गाउँ कमिटी सचिब देबेन्द्र शाहीसहितको टोलिले वडा नम्बर २ को पथरैया र ३ को काडा नदीको कटान बारे स्थलगत अनुगमन गरेको थियो ।
सो क्रममा पालिका अध्यक्ष कुवरले तत्काल तटबन्ध निर्माणका लागि ठूलो रकम लाग्ने र पालिका संग बजेट नहुदा समस्या पर्ने भएकाले तत्कालका लागि जोखिम टार्न यी नदीबाट जोखिममा परेका मानव बस्ती र जमिन जोगाउन नदीको धार परिवर्तनको विकल्प नभएको बताए । उनले भने – सबैभन्दा ठूलो कुरा बस्ती जोगाउनु हो, त्यसैले वर्षातको समयलाई ध्यानमा राखी जोखिम टार्न नदीक धार केही दिनमै परिवर्तनको काम सुरु हुनेछ ,र तटबन्ध निर्माणका लागि आवश्यक पहल समेत थालिसकिएको छ ।
नदीको कटान बर्दगोरियाको एक ठूलो समस्या हो, पालिका अध्यक्ष कुवरले भने यसबाट हुने क्षति रोक्न र बस्ती जोगाउन अहिलेको लागि यी नदीमा धार परिवर्तन आवश्यक छ । नदी कटानका कारण यहाँका वस्तीबाट सयौं घर धुरी बर्सेनि विस्थापित हुनुपर्न स्थिति छ ।