कोहलपुर। बाँकेको कोहलपुरमा नेपाल बन्दको सामान्य प्रभाव परेको छ । विप्लव सहितका ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव कोहलपुरमा खासै नपरेको हो ।
कोहलपुरमा नियमित छोटो दुरीका सार्वजनिक सवारीसाधन पूर्ण रुपमा बन्द रहेपनि लामोदुरीका सवारीसाधनहरू कोहलपुर हुँदै आफ्नो गन्तव्यतर्फ चलिरहेका छन् । पसल व्यवसायहरू छिटफुट खुलेका छन् भने अटोरिक्सा, मोटरसाइकल लगाएतका निजी सवारीसाधन निर्वाधरुपमा चलिरहेको देख्न सकिन्छ ।
नेपाल बन्दको प्रभाव देशका केही स्थानमा परेको छ । कैलालीमा शंकास्पद वस्तु भेटिएको छ भने काठमाडौं लगायत केही स्थानमा सवारीसाधन तोडफोड र दाङमा टिप्परमा आगजनी भएको खबर बाहिरिएपनि कोहलपुरको सडकमा भने बन्दकर्ता देखिएका छैनन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ४ वटा पार्टीले संयुक्त विज्ञप्ति निकालेर नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन, नेताकार्यकर्ताको रिहाई गर्न र विप्लव लगायतका नेताहरूको पक्राऊपूर्जी खारेज गर्न, एमसीसी सम्झौता र एसपिपि परियोजना तत्काल खारेज गर्न, भ्रष्टाचार रोक्न र मूल्यवृद्धि नियन्त्रण गर्न साथै राष्ट्रहित विपरितका असमान सन्धि सम्झौता खारेज गर्न लगायतका माग राखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज भाद्र ७ गतेका लागि घोषणा गरिएको नेपाल बन्दको प्रभाव छिटफुट बाहेक देशैभर सामान्य रहेको छ ।