बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा प्रसुती सेवा केन्द्र (वर्थिङ सेन्टर) संचालनको तयारी थालिएको छ । सुगम पालिकाभित्र रहेर पनि भौगोलिक हिसाबले विकट मानिने वडा नम्बर ३ मा सुरक्षित प्रसुतीका लागि प्रसुती सेवा केन्द्र सञ्चालनको तयारी थालिएको हो ।
प्रसुति सेवा केन्द्र संचालनको लागि उपभोक्ता समिति गठन र यसको लागत स्टमेट तयार भइसकेको वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्यले बताए । उनले भने भौगोलिक हिसाबले पिछडिएको वडा नम्बर ३ का लागि यो खुशीको कुरा हो । प्रसुती सेवा केन्द्र (वर्थिङ सेण्टर ) संचालनको लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ, र उपभोक्ता समिति र पालिकाबिच सोमबार सम्झौता समेत भएको हुदा अब केही साताभित्र नै काम सक्ने गरि अगाडि बढ्ने छौ ।
प्रसुती सेवा केन्द्र (वर्थिङ सेन्टर) हाल संचालनको अवस्थामा रहेको सामुदायिक स्वास्थ्य इकाई रानिकुण्डामै रहने र आवश्यक भवन खानेपानी संस्थासंग समन्वय गरि प्रयोगमा ल्याईने बताए ।
यता बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले सुरक्षित प्रसुतिका लागि रानिकुण्डामा यसको निकै आवश्यकता देखिएको हुँदा छिटोभन्दा छिटो संचालनमा ल्याउनका लागि आफू लागिपरेको बताए । वडा नम्बर ३ भौगोलिक हिसाबले पनि समस्यामा छ ,वर्षातको समयमा नदिका कारण आवातजावतमा समेत वर्षौदेखि समस्या हुँदै आएको छ, त्यसैलाई मध्यनजर गरि प्रसुती सेवा केन्द्र संचालन गर्नुको विकल्प देखिदैन । अध्यक्ष कुवरले भने मानव स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो, वडा नम्बर ३ मा प्रसुती केन्द्र संचालन सङ्गै सामुदायिक स्वास्थ्य इकाइलाई प्रभावकारी तवरले २४ घन्टा संचालन गर्ने लक्ष लिएको छु ।