रुकुम । रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।
बैङ्किङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।
माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं.२ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मङ्गलवार उम्मेदवारी खारेज गरेको हो ।
काँग्रेस नेता ओलीमाथि बैङ्किङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।
गठबन्धनको भागवण्डा अनुसार रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख)मा काँग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै काँग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।