बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रमुख व्यापारी क्षेत्र बौनिया बजारमा ढल व्यवस्थापनको लागि कार्ययोजना अगाडि बढेको छ । पालिकाको प्रमुख व्यापारीक क्षेत्रका रूपमा रहेको बजार क्षेत्रमा ढल निकासीको समस्याका कारण खेप्नु परेको समस्यालाई मध्यनजर गरि ढल तथा नाली व्यवस्थापनको काम अगाडि बढेको हो ।
ढल व्यवस्थापन नहुदा सिङ्गो बजारबासी तथा यहाँ पाल्ने नागरिकले वर्षौदेखि पीडा खेप्नुपरेको छ । सोही समस्यालाई मध्यनजर गरि सोमबार ढल तथा नाली व्यवस्थापनको लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरले यसको शिलान्यास गरेका हुन । शिलान्यास गर्दै पालिका अध्यक्ष कुँवरले आफू निर्वाचित पश्चात् यश क्षेत्रका जनताको बिकास र समृद्धिका लागी दिन रात लागेको बताउनु भयो ।
बौनिया बजारमा ढल तथा नाली व्यवस्थापनको ठेक्का टीकापुरको रश्मि निर्माणरश्मीले पाएको छ । शिलान्यास कार्यक्रममा बर्दगोरिया १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम लगाएतको उपस्थिति थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत यहाँको ढल तथा नाली व्यवस्थापनको काम अगाडि बढेको हो । बौनिया बजार क्षेत्रको दायाँबायाँ नाली व्यवस्थापनको लागि १ करोड ७० लाखको बजेट सडक डिभिजनले छुट्याएको छ । सोही बजेट अनुसार आगामी आर्थिक वर्ष (२०८०/०२ )को जेठ मसान्तसम्म काम सक्ने गरि ठेक्का सम्झौता भएको र सम्झौता अनुसार नै काम सक्ने निर्माण कम्पनीका ठेकेदार वीर बहादुर बटालाले बताए ।
रोडको दायाँबायाँ २५ मिटरको दुरिमा ढल निकास गरिने बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले बताए ।
पछिल्लो समय विकसित शहरका रूपमा रहेको बौनियाको मुख्य समस्याका रूपमा ढल निकास र यसको व्यवस्थापन देखिएको हुँदा यसको समाधानका लागि बौनिया बजार व्यवस्थापन समिति ,स्थानीय सरकार र सरोकारवालाले पटकपटक पहल कदमी गर्दै आएका थिए ।
यहाँको ढल तथा नाली व्यवस्थापनको लागि शिलान्यासको काम सकिएसङ्गै अब समस्या समाधान हुन्छ्की भन्ने आम नागरिकमा आशा पलाएको छ ।