बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । बिहिवारदेखि शुरु भएको अभियानको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न ।
अभियानको उद्घाटन गर्दै अध्यक्ष कुवरले हात्ती पाइले रोग निवारणका लागि लक्षित उमेर समूह र व्यक्ति सबैले औसधि सेवन अनिवार्य रूपमा गर्नुपर्ने बताए । उद्घाटन समारोहमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप), प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, स्वास्थ्य शाखा प्रमुख नृप विष्ट लगाएतको उपस्थिती रहेको थियो ।
पालिकाको स्वास्थ्य शाखाको आयोजनामा ६ वटै वडामा यो अभियान शुरु भएको हो स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए । यसपटक बर्दगोरियाका करिब ३५ हजार नागरिकलाई औषधी सेवन गराईने छ ।
उनले भने – फाइलेरीया परिजिबीबाट लाग्ने हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । हात्तीपाईले रोगको औषधि पूर्ण रुपमा सुरक्षीत र प्रभावकारी औषधि भएकाले सुत्केरी र जटील रोग लागेका व्यक्ति बाहेक २ वर्ष माथिका उमेर समूहका स्वास्थ्यकर व्यक्तिले खान सक्ने बताए । उनले हात्ती पाइले रोग निवारण कार्यक्रम प्रभावकारी रुपमा सन्चालन गरि हात्ती पाइले रोगबाट बच्नको लागि सबैले औँषधी सेवन गनुपर्ने बताए ।
हात्तीपाइले रोग कस्तो हो ?
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउदँछ । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निकी पार्न सकिँदैन ।
हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ? कसले हुँदैन ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ । दुई वर्ष उमेर पुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु हुँदैन ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू के छन् ?
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ । केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिरको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।