बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु भएको छ । पालिकाको वडा नम्बर ३ मा फागुन २ गतेदेखि सुरु भएको नाप नक्साको कार्य सकिएपछि वडा नम्बर १ को उत्तर दमौरी क्षेत्रबाट यहाँका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम सुरु भएको हो ।
आइतबारदेखि वडा नम्बर १ मा सुरु भएको नाप नक्साकार्यको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । सो क्रममा उनले पालिकाभित्रका सबै वडामा जग्गाको जतिसक्दो छिटो नाप नक्साको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न । उनले वडा नम्बर ३ मा नाप नक्साको कार्य सकिएको भन्दै अब वडा नम्बर ३ मा रहेका स्थानीयलाई जग्गाको लालपुर्जा पनि छिट्टै बाड्ने बताए । वडा नम्बर ३ मा लालपुर्जा वितरणको काम सकिएपछि बाकी वडामा क्रमश जग्गाको नाप नक्साको काम थाल्ने बताए ।
पालिका अध्यक्ष कुवरले पालिकाका ६ वटै वडाका भूमिहीन तथा अव्यस्थित बसोबासिलाई छिटोभन्दा छिटो जग्गाधनि पुर्जा वितरण गर्नेगरि आफुले काम थाल्ने बताए ।
कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलब्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको बताए ।उनले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताए ।
जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ’ उनले भने, ‘छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले बर्दगोरियामा अन्य पालिकाभन्दा छिटो तवरले जग्गाको नाप नक्साको कार्य पूरा गरि स्थानीयलाई छिटो लालपुर्जा वितरणको काम प्रभावकारी तवरले थाल्नुपर्नेमा जोड दिएका थिए ।