बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभियान सुरु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको देशव्यापी अभियानअन्तर्गत पालिकामा यो कार्यक्रम सुरु भएको हो ।
वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्तागर्ने अभियान स्वरुप बर्दगोरियामा पनि यो कार्यक्रम सुरु भएको पालिकाका पञ्जीकरण शाखा प्रमुख मदन जोशीले जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ता अभियान अन्तर्गत आइतबार वडा नम्बर १ कट्टीपुर चोकदेखि वडा कार्यालयसम्म जनचेतनामुलक र्याली निकालिएको थियो । वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा क्लबको सहयोगमा जन्म, मृत्यु ,बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना समयमै दर्ता गराउ भन्ने सन्देशमुलक प्लेकार्ड सहित र्याली निकालिएको थियो ।
व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको पालिकाका पन्जीकरण शाखा प्रमुख जोशीले बताउनुभयो । यो अभियान पालिकाका ६ वटै वडामा संचालन हुनेछ ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गरिएको हो ।
पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बर्दगोरियाका सबै वडामा व्यक्तिगत घटना दर्ता अभियान चलाइने भएकोले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइसराई लगायतका घटना ३५ दिनभित्र दर्ता गर्न आग्रह गर्नुभयो ।