बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा १५ शैयाको अस्पताल संचालनमा आएको छ। तत्कालीन दोदोधरा स्वास्थ्य चौकीको स्तरबृद्धी गरी १५ शय्याको दोदोधरा अस्पताल बनाइएको हो ।
कुल १३ करोड ८३ लाख १८ हजार २ सय ८६ रुपैयाँ लागत रहेको १५ शय्या अस्पताल २०८० असार २० गते सम्पन्न गर्ने गरी लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीले २०७८ असार २० गते सम्झौता गरेको थियो । तर सो कम्पनीले सम्झौता सकिनु ४ महिना अगाबै अस्पताल निर्माणको काम पुरागरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो ।
अस्पताल संचालनमा आएसङ्गै अब सामान्य रोगको उपचारको लागि यहाँका नागरिकले धनगढी , नेपालगन्ज लगायतका शहरी अस्पतालमा जानु पर्ने बाध्यता हट्ने आशा गरिएको छ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार १५ शैया अस्पतालको ब्यानर उद्घाटनसंगै अस्पतालले आफ्नो प्रारम्भिक सेवा संचालनमा ल्याएको हो। अस्पताल संचालनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्थानीयस्तरमा १५ शैयाको अस्पताल उद्घाटन भएसंगै अब यहाँका गरिव, दीन दुखि र आर्थिक अवस्था कमजोर भएका विपन्न बर्गका नागरिकका लागि उपचार गर्न सहज हुने बताउनुभयो । उहाँले देशभर शिलान्यास भएका ३ सय ९६ वटा आधारभूत अस्पताल मध्य सबैभन्दा पहिले निर्माण कार्य पुरागरी संचालनमा ल्याउन सफल भएको भन्दै बर्दगोरिया गाउँपालिकालाई धन्यवाद दिए । उनले आगामी दिनमा अस्पताल संचालनको लागि चाहिने हरेक सामाग्रीको व्यवस्थापन प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख शुसिला शाहीले अस्पताल संचालनमा आएसङ्गै नागरिकलाई आफ्नै घर आगनमा स्थापना भएको अस्पतालमा उपचार गर्न पाउने अवस्थाले निकै राहात पुर्याउने बताउनुभयो । उहाँले राज्य संघीय संरचनामा गएसंगै विस्तारै विकेन्द्रिकृत नीति अनुरुप सरकारले उपलब्ध गराउने सेवा सुविधा पनि जनताको घरआगनमा आउन थालेको र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्थाको सिर्जना भएकोले स्थानीयले आफ्नो ठाउँ र क्षेत्रको विकासको लागि सकरात्मक रचनात्मक सहयोग गर्नु पर्ने बताउनुभयो ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको स्वागत मन्तव्यसङ्गै शुरु भएको कार्यक्रम पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षतामा सम्पन्न भएको हो ।