काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र पूर्वसचिवहरू मुछिँदै गएका छन् ।
गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा अनुसन्धानको दायरामा तानिएका छन् । पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा छन् । उनीमाथि भुटानी शरणार्थीको सक्कल फाइल गिरोहलाई उपलब्ध गराएको आरोप छ । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आफैं उपस्थित भएका पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि भन्दै राखेको हो । त्यसपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमार्फत उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको छ । पाण्डेविरुद्ध मंगलबार पक्राउपुर्जी जारी भएको थियो ।
‘काठमाडौं जिल्ला अदालबाट तीन दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति आएको छ, अदालतको अनुमतिअनुसार पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउँछौं,’ प्रहरी स्रोतले भन्यो । यसैगरी, प्रहरीले बुधबार नै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ भने हाल एमालेका सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । रायमाझीका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका सबै प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए । नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका सबै प्रहरीको निगरानीमा छन्, पक्राउ परेकाहरूको बयान र पीडितको जाहेरीका आधारमा अन्य व्यक्तिको पनि संलग्नता खुला,’ काठमाडौं प्रहरी प्रमुख कार्कीले राजधानीसँग भने ।
भुटानी शरणार्थी प्रमाणीकरणका लागि छुटेका व्यक्तिहरूको विवरण तयार गर्ने क्रममा प्रतिवेदन बनाउँदै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको थियो ।
सोही प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनको बयान मंगलबारबाट नै लिन सुरु गरिसकेको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले वैशाख २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विवरणमा आउन छुटेका शरणार्थीको विवरण थप गर्ने प्रक्रियाका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका व्यक्तिसँग ४० करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन भने हालसम्म सार्वजनिक भएको छैन ।
काठमाडौं प्रहरीका अनुसार शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रहरीमा उजुरी गर्नेको संख्या २ सय पुगेको छ । प्रहरीका अनुसार ती पीडितबाट २१ वटा जाहेरी परेको छ । एक जाहेरीमा ६० जनासम्मको उजुरी परेको प्रहरीले जनाएको छ ।
तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले तत्कालीन गृहमन्त्री र गृह सचिवलाईसमेत मिलाउनुपर्ने भन्दै पीडितबाट ५ करोड आर्थिक लाभ लिएको बयानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।
थापाले १४ फागुन २०७४ देखि ६ जेठ २०७८ सम्म गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस समय उनी नेकपा माओवादी केन्द्रमा थिए भने हाल थापा नेकपा एमालेको उपाध्यक्षको भूमिकामा छन् । त्यस समय गृहसचिवमा प्रेम राई, महेश्वर न्यौपाने र पाण्डे थिए ।
प्रहरीले सोही प्रकरणमा मुटिएका केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङलाई गत १२ चैतमा पक्राउ गरेको थियो भने सन्देश शर्मा र सागर राईलाई १५ चैतमा पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेत्री सुजाता कोइराला परराष्ट्रमन्त्री भएकाबखत निजी सचिवालयमा रहेको बताइएको छ । ठगीको घटना’बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १८ जेठ २०७९ मा पहिलोपटक उजुरी परेको थियो । यस्तै, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको थाहा पाएपछि पीडितले मंसिर २०७८ मा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकोसमेत खुलेको छ ।
प्रहरीले भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा मंगलबा पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।