बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा जुनोटिक रोग र पशु बीमा सम्बन्धि सरोकारवाला निकायसंग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आयोजनामा बुधबार अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा जुनोटिक रोगबारे परामर्श गरिनुका साथै यसबाट बच्ने उपाय तथा पशु बीमाबाट हुने फाइदाबारे परामर्श पनि गरिएको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममापशुपन्छि रोग अन्वेषण प्रयोगशालाका डाक्टर नरेश प्रसाद जोशीले जुनोटिक रोग के हो, यो रोगको संक्रमण कसरी हुन्छ र जुनोरिक रोगको संक्रमणबाट बाच्न के गर्नुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो ।
सो क्रममा उहाँले जुनोटिक रोगबाट बच्न सधैं दूध उमालेर मात्र खाने, काचो मासु नखाने, रोगि वा रोग लागेर मरेको पशुपन्छिको मासु नखाने तथा सधैं सफा मासु मात्र खाने बानिको बिकास गर्न सुझाव दिनुभयो । साथै यो रोग कुकुर र बिरालोबाट समेत सर्ने भएकाले उनीहरुलाई काचो मासु नखुवाउने, तुहिने रोगमा नाङ्गो हातले नछुने तथा प्रत्यक तीन/तीन महिनामा कुकुरलाई जुका र फित्ते जुकाको औसधि खुवाउन जरुरी रहेकोे बताउनुभयो ।
उहाँले ६० प्रतिशत रोगहरु जनावरबाटै मानिसमा सर्ने भएकाले रेबिज, बर्डफ्लु जस्ता रोगबाट बच्नका लागि सतर्कता अपनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा पशु सेवा सम्बन्धी संञ्चालन भएका कार्यक्रम, रेबिज र जुनोटिक रोगको रोगथाम, नियन्त्रण, खोप लगाउने विधि, र पशु प्राविधिकहरुको समस्या, तथा समाधानका उपाय, प्रभावकारी पशु विकासका लागी कार्यक्रम, कृषक लाभाम्बित कार्यक्रम र विभिन्न योजना तर्जुमा लगायतका विषयमा छलफल समेत भएको थियो ।
अन्तरक्रियामा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय किसान ,विद्यालयका शिक्षक, मासु व्यवसायी लगाएतको उपस्थिति रहेको थियो । पशुसेवा शाखाका प्रमुख जय प्रसाद कोइरालाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका नायव प्राविधिक सहायक अनिल ओलीले गर्नुभएको थियो ।