बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ठेक्का सम्झौता बमोजिम निर्धारित समयसीमाभित्र काम पूरा नगरी योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । पालिकामा संचालित विभिन्न योजना समयमै नसक्ने, ठेक्का ओगटेर काम संचालन नगर्ने र योजनाको काम बिचमै अलपत्र पारी रकम फ्रीज गराउने निर्माण कम्पनीलाई कारबाहीको तयारी थालेको हो ।
पालिकामा संचालित विभिन्न योजनाको निरन्तर अनुगमनका क्रममा गत आर्थिक वर्ष २०७९/८० मा कतिपय निर्माण कम्पनीले काम बिचमै अलपत्र पारेको, योजनाको करोडौं रकम फ्रीज गराएको पाइएको र भएका कामसमेत गुणस्तरीय नभएको भेटिएपछि पालिकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको पालिका प्रवक्ता एवम वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बताउनुभयो ।
गौतमले भन्नुभयो – हामीले पटकपटक निर्माण कम्पनीलाई गुणस्तरीय कामगर्न र सम्झौता अबधिभित्रै कामपूरा गर्न सल्लाह र परिपत्र गरेका हौ, तर केही निर्माण कम्पनीले सोअनुसार काम नगरी विकास निर्माणका काम अलपत्र र गुणस्तरहीन गरेको भेटिएको तथा समयसीमा काम नसक्ने निर्माण कम्पनीले पालिकाको अनुमति बीना काम गरेको भेटिएपछि अब कारबाहीको प्रक्रिया अगाडि बढाएका हौ ।
बुधबार बसेको कार्यपालिका बैठकका निर्णय पत्रकार सामु सार्वजनिक गर्दै पालिका प्रवक्ता गौतमले सो कुरा बताउनुभएको हो । उहाँले वडा नम्बर २ स्थित रिङ्गरोडको बारेमा पत्रकारले सोधेको जवाफ दिदै भन्नुभयो – प्रसिद्द धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम जोड्ने दोधरा – कुम्भिया जोड्ने रिङ्गरोड सडक अलपत्र पार्ने मालिका जेवि/जेभी निर्माण कम्पनी पनि अब कारबाहीको भागेदार बन्नेछ । म्याद थप गर्दागर्दै लगातार दुई आर्थिक वर्षसम्म मालिका जेवि निर्माण कम्पनीले सो सडक पूरा नगरी अहिले अलपत्र पारेको छ, भने करोड बढी रकम फ्रीज गराएको छ ।
मालिका जेविले हालसम्म झन्डै ८ सय मिटर मात्रै सो रिङ्गरोड कालोपत्रेको काम पूरा गरेको छ । पालिका प्रवक्ता गौतमकाअनुसार सो निर्माण कम्पनीले कामअनुसारको भुक्तानी बापत ९३ लाख रुपैयाँ लगिसकेको छ । दोधरा – कुम्भिया जोड्ने रिङ्गरोड निर्माणका लागि २०७८/१२/११ मा ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार मालिका जेविले एकवर्ष भित्र २३ सय मिटर सडक कालोपत्रे गरिसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले काम पूरागर्न नसकेपछि पुनः ०७९/४/६ गते २०८०/३/१५ गतेभित्र काम सक्नेगरी म्याद थप गरिएको थियो । सो अबधिसम्म पनि मालिका जेविले झन्डै ८ सय मिटर मात्रै सडक कालोपत्रेको काम सकेको छ । जसको सबै भुक्तानी पनि सो निर्माण कम्पनीले प्राप्त गरिसकेको पालिकाले जनाएको छ ।
पालिकाकाअनुसार अब योजना अलपत्र पार्ने पटकपटक रकम फ्रीज गराउने सो मालिका जेबि निर्माण कम्पनी कानुनअनुसार कारबाहीको दायरामा छ ।
बर्दगोरिया गाउँपालिकाको मिति २०८०/०३/ ०७ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार सम्झौताअनुसार काम नसक्ने मालिका जेविसहित सबै निर्माण कम्पनीलाई सम्झौताअनुसारको काम नसक्नेलाई पुनः म्याद नथप्ने निर्णयसहित निर्माण कार्य स्थगित गर्न पत्राचार गरिसकेको थियो । तर मालिका जेविले पालिकाको निर्णय र कार्यादेश बिना दोधरा – रिङ्गरोडमा सम्झौता अबधि सकिसकेपछि साढे दुईसय मिटर बढी सडक कालोपत्रे गरेको र कतिपय स्थानमा कालोपत्रे सकिएको केही दिनमै सडक पिच उप्किएको पाइएको समाचार संचार माध्यममा आएपछि पालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिकाअनुसार कार्यादेश विपरीत आफुखुशी काम गर्ने निर्माण कम्पनीको भुक्तानी रोकिनेछ भने पुनः म्याद थपसमेत हुनेछैन । यतिमात्र नभई योजना अलपत्र पारी बजेट फ्रीज गराउने निर्माण कम्पनीको बैङ्ग धरौटी जफतसहित कालोसूचीको प्रक्रिया थालिनेछ ।