राजविराज । विवाह दर्ता र सन्तानको जन्मदर्ताको माग गर्दै आएकी एक महिला अहिले घर न घाटकी बनाइएकी छन् । यही दुईवटा मागका कारण वर्षौंदेखि श्रीमान्, सासू र ससुराबाट हिंसा सहन बाध्य भएकी राजविराज–२ राजदेवी चौककी २५ वर्षीया पलिया खातुन पछिल्लोपटक दुई नाबालक सन्तानसहित घर निकालामा परेकी छन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका–२ महादेवपट्टी माइत भएकी पलियाको ५ वर्षअघि राजविराज–२ निवासी आशिकसँग विवाह भएको थियो । ‘विवाह भएपछि सुरुका दुई वर्षसम्म श्रीमान् आशिक, सासू नाजमिन, ससुरा अकबर र घरपरिवारका अन्य सबैले राम्रै व्यवहार गरे । यस अवधिमा हसान र हसनेन गरी दुई सन्तानको जन्म भयो,’ मंगलबार दुई नाबालक सन्तानसहित न्यायका लागि पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मी गुहार्न पुगेकी पलियाले विगत सुनाउँदै भनिन्, ‘विवाह दर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन पटकपटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामा नै परें ।’
उनले विवाह दर्ता र जन्मदर्ता गराइदिन श्रीमानलाई ताकेता गर्दा घरजग्गा नै बेचेर सिरहाको लहानमा गई बसेका र त्यहीँबाट फोन गरेर ‘तलाक’ दिएको उनले सुनाइन् ।
‘अहिले दुवै छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहियो, जन्मदर्ताका लागि विवाह दर्ता आवश्यक प¥यो,’ पलियाले भनिन्, ‘तर, मसँग ती दुजै चिज नभएकाले विद्यालय भर्ना गराउनसमेत सकिएको छैन ।’
विवाह र जन्मदर्ताका लागि आग्रह गर्दा श्रीमान्, सासू र ससुराले यातना मात्र दिएनन्, मुस्लिम धर्म परम्परानुसार भन्दै ‘तलाक’ समेत दिएर सम्बन्ध विच्छेदको अवस्थामा पु¥याइ दिएको उनले बताइन् । ‘अब कति हिंसा सहनु ?’ पलियाले सञ्चारकर्मीसँग पीडा पोखिन् ।
अहिले उनी माइतीको शरणमा छिन् । पलियाकी आमा हसेमुनले छोरीलाई ज्वाइँ, सासू र ससुराले सधैं कुटपिट गरेर घरबाट निकाल्ने गरेपछि समाजमा कयौंपटक न्यायका लागि याचना गर्दा ज्वाइँ आशिकले विवाह र जन्मदर्ता बनाइदिने कबोल गरे पनि त्यो बाचा पूरा नगरेको सुनाइन् । उल्टै छोरीलाई घर निकाला नै गरेपछि आफूहरू अदालतको शरणमा पुगेको उनको भनाइ छ ।
७ भदौ २०७९ मा सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले पलियामाथि घरेलु हिंसा भएको ठहर गर्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा पीडित महिलालाई शान्त र निर्भय वातावरणमा घरमा बस्न, खान लाउन दिनु तथा दाइजो माग्ने र कुटपिटलगायतका यातना दिने काम नगर्नु भनी उल्लेख थियो । तर, आरोपितहरूले गृह प्रवेश गर्न दिए पनि थप दाइजो माग्ने, विवाह र जन्मदर्ता बनाइदिन आलटाल गर्ने तथा यातना दिनेक्रम अझ बढाएको पलियाले सुनाइन् ।
विवाहमा ४ लाख रुपैयाँ दाइजो लिएका आशिक परिवारले पछिल्लो समय माइतबाट थप ३ लाख रुपैयाँ तथा सोफासेट र सुनको औंठी लिएर आउन दबाब दिएको र सोही निहुँमा घर निकाला गरिदिएको पीडित पलियाको कथन छ ।
‘विवाह र जन्मदर्ता पनि बनाइदिएनन्, मोबाइलबाट ‘तलाक’ दिइसकें भन्छन्, घरजग्गा पनि बेचेर हिँडिसके, अब म के गरूँ ?’ पलियाले थपिन्, ‘दुई नाबालक सन्तानसहित न्यायका लागि भौंतारिरहेकी छु ।’
कानुन व्यवसायी मो. समिमले भने, ‘न त उनीहरूको विवाह दर्ता भयो, न त धार्मिक विधिनुसार मौलाना, कारी वा हाफिजले ‘तलाकनामा’ गराएका छन्, धार्मिक कानुनको औपचारिक हैसियत नभएको फाइदा आशिक परिवारले लिन खोजेका छन् ।’
राजविराजमा भएको सबै घरजग्गा बेचविखन गरेर दुई महिनाअघि श्रीमान्, सासू र ससुरा सिरहाको लहान बजारमा कपडा सिलाइ गर्ने टेलर्स खोलेर बसेका थाहा पाएको पलियाले बताइन् ।
एक कठ्ठा जग्गामा बनेको दुईतले पक्की घर १ करोड १० लाख रुपैयाँमा बिक्री गरे पनि २ नाबालक सन्तान र आफ्नो भरण पोषणका लागि १ रुपैयाँ पनि खर्च नदिएको उनले बताइन् । यस’bout प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत खासै पहल नभएको र खोज तलास भइरहेको भन्ने जवाफ र आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ ।
पलियाका तर्फबाट निःशुल्क कानुनी सहायता तथा बहस पैरवी गर्दै आएकी प्रदेशसभा सदस्यसमेत रहेकी अधिवक्ता किरण साहले घरेलु हिंसा मुद्दामा जिल्ला अदालत सप्तरीबाट संरक्षणात्मक आदेश भई गृह प्रवेशसमेत गराइसकेकी पलियालाई पुनः यातना दिँदै घर निकाला गर्नु घोर अपराध मात्र नभई अदालतको आदेशको अवज्ञा भएको बताएकी छन् ।
‘त्यतिबेला पनि पलियालाई घर प्रवेश गराउन परिवारले अवरोधको प्रयास गरेका थिए,’ प्रदेशसभा सदस्य किरणले भनिन्, ‘तर, जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीय र प्रहरीको सहयोगमा गृह प्रवेश गराइएको थियो ।’
किरणले यस घटना महिला हिंसाको पराकाष्ठा र अदालतको आदेशको पूर्ण अवज्ञा भएको भन्दै पलियाको न्यायका लागि सबै मिलेर दबाब बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।