नुवाकोट, ३० जेठ २०७८ ।
निषेधाज्ञाको समयमा बेलकोटगढी नगरपालिका ४ का वडाध्यक्ष पिकनिक खान गएका छन् । नुवाकोट जिल्लामा निषेधाज्ञा जारी रहँदा वडाध्यक्ष चन्द्र बहादुर लामा दलवल सहित पिकनिक खान गएका हुन् ।
असार १ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेको समयमा वडाध्यक्ष नै पिकनिक खाने र भिडभाड गर्ने काममा लाग्नु कानुन विपरित भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) नुवाकोटका संयोजक तथा जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाले बताउनुभयो ।
“जिल्लामा अहिले निषेधाज्ञा कायमै छ, हामीले जनताहरुलाई घर बाहिर ननिस्कनु भनेका छौँ” उहाँले भन्नुभयो, “यस्तो बेला जनप्रतिनिधि नै सार्वजनिक स्थलमा भिडभाड गर्न जानु राम्रो काम होइन ।”
वडाध्यक्ष लामा र वडा सचिव सहित सहित उहाँ निकट दलको नेता सहितका टोलीहरु बेलकोटगढी नगरपालिकाको ऐतिहासिक स्थान चिम्टेश्वरमा शनिवार पिकनिक खान गएका थिए । वडाध्यक्ष सहित गाउँका केहि युवाहरु समेत पिकनिकमा समेल भएको पाइएको छ ।
पिकनिक खान गएको विषयमा जानकारी लिन खोज्दा लामाले गएको होइन भन्ने जवाफ दिनुभएको थियो तर फेसबुकमा फोटो देखिएको छ भन्ने जिल्लाखबरको प्रश्नपछि उहाँले कुराकानी गर्न नचाहेर फोन काटिदिनुभएको छ ।
अहिले कोरोनाको महामारीको समयमा जनताहरुलाई बाहिर निस्किन नदिएको राज्य नै यसरी हिँड्नुलाई जनताहरुले राम्रो रुपमा नलिने बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडाले बताउनुभयो । जनप्रतिनिधिहरुले नै यसरी लापरवाही गरे जनस्तरमा नराम्रो सन्देश जाने उहाँको भनाई छ ।
सामाजिक सञ्जालमा वडाध्यक्ष सहितको भिड पिकनिक खान गएको तस्विर सार्वजनिक भएपछि अहिले चौतर्फी आलोचना भैरहेको छ । जनतालाई बाहिर निस्कन नपाउने गरी लकडाउन गर्ने वडाध्यक्ष नै यसरी हिँड्नु राम्रो नभएको जानकारहरु बताउछन् ।