बागलुङ, ३० जेठ २०७८ ।
जैमिनीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार प्राप्त रिपोर्ट अनुसार जैमिनी नगरपालिकामा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।
शुक्रबार जैमिनी नगरपालिका ८ छिस्तीका ८१ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा २२ जना र अघिल्लो दिनको दुईजना गरी आइतबार २४ जनाको रिपोर्ट पोजेटिभ आएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यता जैमिनीमा थप ८४ जना कोरोना संक्रमितहरु निको भएर नियमित काममा फर्किएका छन् । जैमिनी ६ अर्जेवाका ४६ जना, जैमिनी ७ जैदीका २६ जना र जैमिनी ८ छिस्तीका १२ जना गरी कुल ८४ जना निको भएकाको सूचिमा परेका हुन् ।
अहिले जैमिनी नगरपालिकाको वडा नं १ मा तीनजना, वडा नं २ मा तीनजना, वडा नं ६ मा १३ जना, वडा नं ७ मा ५ जना, वडा नं ८ मा आइतबार थपिएका २४ जना र वडा नं १० मा पाँचजना गरी नगरपालिकाभर ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनिहरुमध्ये ५२ जना होम आइशोलेसनमा रहेका छन् भने एकजना जैमिनी कोभिड १९ अस्थाई अस्पताल कुश्मिसेराको आइशोलेसनमा छन् ।
जैमिनी १ कुश्मिसेराका पुरुष संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइशोलेसनमा लगिएको अस्पतालका प्यारामेडिक्स डिल्ली शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी घरमै गएर हेर्दा स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजन सहित आवश्यक उपचारको लागि उहाँलाई अस्पताल लगिएको शर्माको भनाई छ । उहाँकाे अहिले अक्सिजनको सहायताले उपचार भैरहेको छ ।