काठमाडौं, २४ असार २०७८ ।
सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कागजमै सीमित देखिएकाे छ ।
सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण गर्ने उद्देश्यले कानुन बनाइए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ भने सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढिरहेकाे छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन सकेकाे छैन ।
सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुने भनेर सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ मा उल्लेख छ । तर उक्त प्रावधानविपरीत सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरु प्रशस्त देखिन्छन् भने उनीहरुमाथि कारवाहीका लागि प्रभावकारी संयन्त्रको विकाससमेत हुन सकेको छैन । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई हालसम्म उक्त ऐनअनुसार सम्बन्धित निकायले कारवाही गरेकाे छैन । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्न नदिनका लागि भन्दै कानुन बनाइए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ ।
नियन्त्रण तथा नियमनको अभावमा उक्त ऐन प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजार जनाको मृत्यु हुनेगर्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि कर वृद्धि गर्नुपर्ने सरोकारवालाको भनाइ छ । सरकारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थबाट ३६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्दै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट नसर्ने रोगहरुको जोखिम झन् बढ्दै गएको छ । मिर्गौला, मुटु, कलेजो, मधुमेह आदि नसर्ने रोगका बिरामी बढ्दै गइरहेको धिमाल बताउनुहुन्छ ।
वार्षिक एक खर्ब ९ अर्ब रुपैयाँ सुर्तीजन्य पदार्थमा खर्च
वार्षिक रुपमा सुर्तीजन्य पदार्थको प्रयोगमा १ खर्ब ९ अर्ब रुपैयाँ खर्च हुने गर्छ । परिषद्को अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको एकजना प्रयोगकर्ताले मासिक सरदर १ हजार ५० रुपैयाँ खर्च गर्ने गर्छ । अर्थात् एक वर्षमा सुर्तीजन्य पदार्थको एक प्रयोगकर्ताले औसत १२ हजार ६ सय रुपैयाँ खर्च गर्दछ ।
वार्षिक ५० अर्बभन्दा बढी उपचारमा खर्चः सुर्तीजन्य पदार्थ प्रयोगका कारण निम्तिने रोगको उपचारका लागि वार्षिक ५० अर्बभन्दा बढी खर्च हुने गर्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालको कुल जनसंख्याको २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । करिब ८६ लाख ७० हजारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशतमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्युः विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ । सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ भने सँगै बस्ने मानिसले सेवन गरेको चुरोटको धुवाँकै असरका कारण निम्तिने रोगबाट बर्सेनि १२ लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि यस्तो छ ऐनमा व्यवस्थाः
– सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन । यदि नियम उल्लंघन गरेमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुनसक्छ ।
– कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइँदैन, यदि नियम उल्लंघन गरेको खण्डमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
– १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन् । यदि त्यसो गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइँदैन । यदि यो नियम उल्लंघन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पाइँदैन । यदि त्यसरी विक्री गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
– निःशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइँदैन । यदि यस्तो गरेको खण्डमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।