कैलाली । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन् । दुईवटा कार्यालय स्थापना गरी २०७१÷७२ सालमा आयोजनाको ठेक्का भएको थियो । सुरुदेखि नै सो आयोजना कछुवा गतिमा निर्माण भइरहेको छ ।
३ सय ५९ कुल लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । अछाम र बझाङ जिल्लामा दुईवटा कार्यालय स्थापना भएका हुन् । नेपालको उत्तरी दक्षिण जोड्ने सबैभन्दा छोटो दूरी रहेको सुदूरपश्चिम प्रदेशको गौरवको योजना सेती राजमार्ग हो ।
कैलालीको टीकापुर भारतसँग जोडिएको तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हँुदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सेती लोकमार्गको १ सय ९२ किलोमिटर सडकमा ट्र्याक खोल्नै बाँकी छ ।
कुल ३ सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो । सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।
दक्षिणीखण्ड बौनियादेखि ठुलीगाडसम्म रूख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको थियो । गत वर्ष मात्र रूख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल चारवटा पुल र बौनियादेखि ठुलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।