काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौंमा बृहत्त विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । सभामा सहभागी हुन पनि मोर्चाले आम नागरिकलाई आह्वान गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चाले उक्त विरोधसभामा सहभागी हुनको लागि आह्वान गरेको छ । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ ।
संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ । संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ ।
त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ । जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको सुनाए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको स्मरण गराए ।
तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको स्पष्ट पारे । उनले भने, ‘संविधानलाई उत्कृष्ट संविधान घोषित गरियो । तर, के यो नेपाली जनताको लागि बनेको हो त ? जनताका लागि के छ र संविधानमा यसलाई कहिले कार्यान्वयन गर्ने ?’
नेपाल स्वच्छ नभएको र राष्ट्रपति पनि पार्टीकै व्यक्ति हुनु देशको लागि दुःखद् अवस्था रहेको उनको भनाइ छ ।
आफूहरुले अघि सारेका एजेन्डालाई जनतासमक्ष पुर्याइदिन पत्रकारसमक्ष आग्रह गरे ।
गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाइ छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दापनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको उनले आरोप लगाए । राजा र दल दुवैले मिलेर देश चलाउनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विश्वमा हिन्दू धर्मको एकमात्र देश नेपाललाई ईसाइकरण गर्न खोजिएको भन्दै सरकार पक्षमाथि आरोप लगाए । स्वीस बैँकमा नेपालीको अरबौँको भ्रष्टाचारको पर्दाफास भएसकेको उनले सुनाए ।
त्यसैगरि कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक हरिबोल भट्टले आज मुलुक दुरावस्थामा पुग्नुमा व्याप्त भ्रष्टाचारको हात रहेको बताए । lराजा र प्रजा दुवै एकात्मक प्रणालीबाट देशको निर्माण पृथ्वीनारायण शाहले गरेको सुनाए । तपोमूमि नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो त्यसलाई राजाले समेत साथ दिएका उनले सुनाए ।
त्यस्तै कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले मुलुकको अहिलेको अवस्था खराब रहेको बताए ।